के जयललितालाई आफ्नै विश्वासपात्रले नशालु औषधि दिएकी थिइन् ?


२२ मंसिर । कुनै बेलाकी चर्चित बलिउड अभिनेत्री थिइन्, जयललिता । चलचित्र जगत्बाट दिक्दार भएपछि सन् असीको अन्तिम दशकमा उनी राजनीतिमा ओर्लिइन् । राजनीतिमा यति धेरै सफल भइन्, चार पटकसम्म मुख्यमन्त्रीको पद सम्हालिन् र दक्षिण भारतीय राजनीतिमा दरिलो खम्बाका रुपमा स्थापित भइन् ।

तिनै पूर्वअभिनेत्री तथा तमिलनाडूकी मुख्यमन्त्री जयराम जयललिताको सोमबार राति निधन भयो । ६८ वर्षिया जयललिताको निधनले यतिबेला पूरै चेन्नई सहर र तमिलनाडूका जनता शोकविव्हल छन् । तर, उनको लामो समयसम्मको अस्वस्थता र मृत्युको पछाडि धेरै रहस्यहरु लुकेका छन्, जो समयक्रममा खुल्दै जाला । अधिकांशले भने उनलाई उनकै अत्यन्त सहयोगी, विश्वासपात्र र तमिलनाडूकी अघोषित उपमुख्यमन्त्री ठानिने शशिकला नटराजनको षड्यन्त्रका कारण मृत्यु भएको आशंका र अनुमान गर्ने गरिएको छ ।

विषालु पदार्थ दिइएको आशंका

सन् १९८९ मा तमिलनाडूको मन्नारगुडीबाट शशिकला जयललिताको सम्पर्कमा आइन् । त्यतिबेला शशिकलाले आफूसँगै ४० जना सहयोगी लिएर आएकी थिइन् । ती सहयोगीहरुमा कोही घरमा काम गर्दथे भने कोही भान्सा, कोही सुरक्षागार्ड र कोही ड्राइभर थिए । अर्थात्, जयललिताको निवास शशिकलाले ल्याएका कामदारहरुले ढाकिएको थियो ।

त्यसपछि शशिकला यति शक्तिशाली महिलाका रुपमा उदाइन्, शशिकलाको अनुमति बिना कसैले पनि जयललितालाई भेट्न पाउँदैनथे । सरकारको नीतिको चर्चा पनि शशिकला नै गर्दथिन् र जब उच्च सरकारी कर्मचारीहरु जयललितासँग कुराकानी गर्दथे, त्यतिबेला शशिकला पनि सँगै हुन्थिन् ।

एक दिन, अस्वस्थ रहेकी जयललिता शशिकलालाई कुनै जानकारी नै नदिई एक जना प्रख्यात चिकित्सककहाँ स्वास्थ्य परीक्षण गराउन गइन् । उनले ती चिकित्सकलाई आफूले प्रयोग गरिरहेको औषधिका बारेमा बताइन्, ती चिकित्सक चकित परे । किनकि, त्यही औषधिमार्फत् जयललितालाई घरासयी नर्सले लागू औषधका साथै विषालु पदार्थ दिन्थिन् । जयललितालाई दिइने फलफूलमा पनि विषालु पदार्थ प्रयोग गर्ने गरिएको आशंका गरिएको छ । जुन नर्सले त्यस्तो काम गर्थिन्, ती नर्स शशिकलाले नै चयन गरेकी थिइन् ।

मोदीले पनि दिएका थिए चेतावनी

शशिकलाको परिवारमा थिए– उनका पति एम नटराजन, भाइ, भतिजा, देवर र जेठाजू । त्यो परिवारलाई मन्नारगुडी माफियाको नामले चिनिन्थ्यो, तमिलनाडूको राजनीतिक वृत्तमा । हुन पनि, शशिकलाको परिवारले मुख्यमन्त्री जयललितालाई आफ्नो हातमा लिइसकेको थियो र एक किसिमले शशिकलाको पारिवारिक कैदभित्र जयललिता परिसकेकी थिइन् ।

यो कुरा, गुजरातका तत्कालीन मुख्यमन्त्री नरेन्द्र मोदीलाई पूरै जानकारी थियो । मोदीले जयललितालाई मन्नारगुडी माफियासँग सावधान रहन धेरै पटक सचेत गराएका थिए । किनकि, मन्नारगुडी माफियाले कुनै व्यक्तिको नियुक्ति वा सरुवाका लागि पैसा मात्र लिँदैनथे, उद्योगहरुबाट समेत पैसा असुल्थे । मोदीको चेतावनीपछि जयललिताले शशिकलामाथि निगरानी राख्न थालेकी थिइन् ।

जयललिता विरुद्ध गोप्य बैठक

जब सन् २०११ मा जयललितालाई अकुत सम्पत्ति आर्जन गरेको विषयमा गिरफ्तार गरियो, त्यही वर्षको डिसेम्बर महिनाको पहिलो हप्ता कर्नाटकको राजधानी बेंग्लोरमा शशिकलाको परिवारको गोप्य बैठक बस्यो । शशिकलाको परिवारको गोप्य बैठक हुने सूचना तमिलनाडूका प्रहरी महानिर्देशक रामानुजमले थाहा पाए । रामानुजमले कर्नाटकका प्रहरी महानिर्देशक शंकर बिदारीसित सहयोग मागे । र, रामानुजमले भने, ‘शशिकलाको पारिवारिक बैठक बेंग्लोरमा हुँदैछ, त्यसको गोप्य सूचना मलाई दिनुप¥यो ।’

त्यो गोप्य बैठकमा भएका कुराकानी र षड्यन्त्रका तानाबानाबारे कर्नाटक प्रहरीको मुख्यालयमा पुग्यो र त्यसपछि रामानुजमले प्राप्त गरे । त्यो बैठकमा शशिकला, उनका पति नटराजन, शशिकलाको बहिनीका पति सुधाकरन, शशिकलाका भतिजा टीटीबी दिनकरन र नटराजनका भाइ एम रामचन्द्रन उपस्थित थिए र उनीहरुले जयललिताबारे षड्यन्त्र रचेका थिए । सोही बैठकमा जयललिताको अकुत सम्पत्तिको मात्र चर्चा गरिएन, सम्भावित मुख्यमन्त्री कसलाई बनाउने भन्ने पनि निर्णय भएको थियो ।

त्यसपछि शशिकलासँग धेरै नै सतर्क रहेकी जयललिताले आफ्ना मन्त्रीहरुलाई निर्देशन दिँदै भनिन्, ‘अबउप्रान्त, तिमीहरुले शशिकलाको कुरा नसुन्नू, मैले जे भन्छु, त्यही मान्नू ।’ तर, कतिपय मन्त्रीहरुले जयललिताको कुरालाई गम्भीरतापूर्वक लिएनन् । पछि, सोही वर्षको १७ डिसेम्बरमा जयललिताले शशिकला र उनको परिवार बस्ने निवासमा प्रहरीले छापा मा¥यो । त्यसरी नै, शशिकलाको व्यापार हेर्ने रावननको घरमा पनि छापा मारियो, जहाँ ५० करोड नगद नै फेला प¥यो । शशिकलाले रावननलाई अगाडि सारेर यति धेरै लगानी गरेकी थिइन्, उनको ५ हजार करोड त व्यापार÷व्यवसायमा नै लगानी थियो । भनिन्छ, शशिकलाले सन् २०११ को विधानसभा निर्वाचनमा टिकट बेचेकी थिइन्, त्यसैबाट उनले ३ सय करोड कमाएकी थिइन् ।

१८ डिसेम्बरमा जयललिताले मन्नारगुडी माफियाका सदस्यहरुलाई पार्टीबाट निकाली दिइन् । निकालिनेहरुमा शशिकला, उनका पति, जया टिभिको प्रबन्ध निर्देशक एस अनुराधा, रावनन र सुधाकरनलगायत थिए । जयललिताले अन्नाद्रमुक पार्टीबाट उनीहरुलाई निस्काशन गरेपछि केही माफियाहरु जयललिताको कट्टर विरोधी तथा द्रमुकका नेता करुणानिधिको शरणमा पुगेका थिए । भनिन्छ, मन्नारगुडी माफियाले तमिलनाडूमा मात्र लगानी गरेका छैनन्, सिंगापुर, मलेसिया, दुबइसम्म उनीहरुको लगानी विस्तार भएको छ ।

आखिर, एउटा गरिब परिवारबाट उठेर मुख्यमन्त्रीको दरिलो विश्वासपात्र बनेकी शशिकला अन्ततः जयललिताकै खुट्टाको काँडा बनिन् । जयललितालाई प्रभावमा पारेर उनकै षड्यन्त्रमा रमाएकी शशिकलाबाट सबै राजनीतिज्ञहरुले सिक्नैपर्ने पाठ के हो भने, आफ्नै विश्वासपात्रलाई पनि शंकालु नजरले हेर, कुनै दिन तिनै विश्वासपात्रले सिध्याउन सक्छन् ।

प्रतिक्रिया दिनुहोस्