के लोकमान प्रधानमन्त्री बन्न खोज्दै थिए ?


१७ कात्तिक । राजनीतिक तरलताको फाइदा उठाउँदै आइरहेका निलम्बित अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की के प्रधानमन्त्री बन्ने चलखेलमा लागेका थिए ? त्यही कारण उनलाई महाभियोग लगाएर हटाउन खोजिएको हो ? यस्ता प्रश्नहरु राजनीतिक वृत्तमा उठ्ने नगरेका होइनन् ।

तर, सत्तारुढ नेकपा (माओवादी–केन्द्र) का एक प्रभावशाली नेता तथा ऊर्जा मन्त्री जनार्दन शर्माले भने लोकमानलाई पदबाट हटाउनुको पछाडि उनले प्रधानमन्त्री बन्न चलखेल गरेकोलाई नै मुख्य कारण मानेका छन् । तिहारको बेला गृहजिल्ला रुकुम पुगेका मन्त्री शर्माले सिधै भने, ‘कार्कीले अनुचित ढंगले प्रधानमन्त्री बन्न चलखेल गरेकाले महाभियोग प्रस्ताव ल्याउनु परेको हो ।’

पछिल्लो समय विभिन्न राजनीतिक दलका नेताहरुलाई कारबाही गरेर आतंकित तुल्याउन अग्रसर रहेका अख्तियार प्रमुख कार्कीले राज्यलाई नै आतंकित गरेर सत्ता हत्याउन खोजेको आरोप पनि लगाएका छन् । कार्कीले सत्ता हत्याउन खोजेकाले महाभियोग प्रस्ताव ल्याएर हटाउन आफूहरु बाध्य भएको मन्त्री शर्माले बताएका छन् ।

मन्त्री शर्मासहित केही माओवादी नेताहरु अख्तियार प्रमुख कार्कीलाई हटाउन अग्रपंक्तिमा उभिएका छन् । कार्कीलाई महाभियोग प्रस्ताव ल्याउन पनि शर्मा र वर्षमान पुनलगायतका माओवादीका उच्च तहका नेताहरुले भित्रभित्रै भूमिका खेलेका थिए । तर, माओवादीका अर्का प्रभावशाली नेता तथा अर्थ मन्त्री कृष्णबहादुर महराले भने अहिले पनि लोकमानलाई जोगाउन पार्टीभित्र र बाहिर लबिङ गरिरहेको बताइन्छ । विगतमा सांसद किनबेच काण्डमा समेत मुछिएका मन्त्री महरा र अख्तियार प्रमुख कार्कीबीच कतिपय सन्दर्भमा निकटता रहेको हुँदा पनि महराले कार्कीलाई जोगाउन लागिपरेको सूत्रको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्