कैदीबन्दीलाई दशैँ मान्न ‘खसी’ उपहार


बाजुरा, २९ असोज । बाजुराको बूढीगङ्गा नगरपालिका–२ र ३ ले दशैँ र तिहार अवधिभर वडामा मदिरा बन्द गरेको छ ।
रमाइलोका नाममा मदिरा सेवन गर्दा सामाजिक सद्भाव बिथोलिने र झै–झगडाका घटना बढ्ने हुँदा दशैँ तिहार अवधिभर मदिरा बन्द गर्ने निर्णय गरेको ३ नं वडाका अध्यक्ष खड्क अधिकारीले बताउनुभयो । ती वडाले संयुक्त आयोजनामा सञ्चालन गरिएको शुभकामना आदानप्रदान कार्यक्रममा सो निर्णय गरिएको हो । वडा नं २ का अध्यक्ष हिरालाल थापाको अध्यक्षतामा आयोजना गरेको कार्यक्रमबाट मदिरा सेवन गर्नेलाई पाँच हजार र बिक्री गर्नेलाई दुई हजार जरिवाना लिने निर्णय गरेका छन् ।
सचेतनाका लागि प्रत्येक टोल र बस्तीमा कार्यक्रम सञ्चालन गर्ने र त्यो नमानेमा वडा कार्यालयबाटै कारवाहीका लागि प्रक्रिया थाल्ने निर्णय गरिएको छ । दुुवै वडाले असोज ३१ देखि कात्तिक ३ गतेसम्म बढी निगरानी गर्ने बताएका छन् । वडा कार्यालयका प्रतिनिनिधि, प्रहरी र युवा महिलाको संयुक्त पहलमा मदिरा बन्द गर्न लागिएको बताइएको छ । मदिरा सेवनकै कारण गाउँमा विवादका घटना बढ्न थालेपछि सबैजसो स्थानीयले मदिरा बन्द गर्ने निर्णय गरेका छन् ।

कैदीबन्दीलाई दशैँ मान्न ‘खसी’ उपहार

बाजुराको बूढीनन्दा नगरपालिकाका उपप्रमुख सृष्टी रेग्मीले जिल्ला कारागारमा रहेका कैदीबन्दीलाई दशैँ मान्न खसी उपहार दिनुभएको छ । जिल्ला कारागार बाजुरा पुगेर रेग्मीले आफँैले कैदीबन्दी नाइके दिलीप शाहीलाई खसी हस्तान्तण गर्नुभएको हो । सुधारगृहमा बन्दी जीवन बिताइरहँदा पनि नेपालीको महान् पर्वलाई भव्यरुपमा मनाउन सहयोग पुगोस् भन्ने उद्देश्यले खसी उपहार दिएको रेग्मीले बताउनुभयो ।

खसी उपहार दिन रेग्मी, पूर्वसभासद् वसुन्धरा रोकायासहित नेपाल कम्युनिष्ट पार्टीका नेताहरु शुभकामनासहित खसी उपहारका लागि जिल्ला कारागार परिसरमा पुग्नुभएको थियो । तीन दिनअघि मात्र नेपाल महिला सङ्घले खसी उपहार दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्