कोभिड–१९ डेडिकेटेड अस्पताल: भौतिक निर्माणको काम अन्तिम चरणमा  


 काठमाडौँ, ३० चैत  । कोरोना भाइरसको सङ्क्रमण भएको खण्डमा व्यवस्थित तवरले उपचार गर्नका लागि सरकारले स्थापना गरेको सशस्त्र प्रहरी बलको बलम्बुस्थित अस्पतालमा भौतिक निर्माणको काम अन्तिम चरणमा पुगेको छ । सो अस्पतालको आज उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाललगायतले आज स्थलगत निरीक्षण गर्नुभएको छ । निरीक्षणका क्रममा अस्पतालको पछिल्लो अवस्था र तयारीका बारेमा उहाँहरुले जानकारी लिनुभएको छ ।

छाउनीस्थित नेपाली सेनाको रेञ्जर गणमा रहेको क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) मा आयोजना गरिएको पत्रकार सम्मेलन लगत्तै उहाँहरुले सो अस्पतालको निरीक्षण गर्नुभएको हो । पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले अस्पतालको पछिल्लो अवस्थाबारे समेत जानकारी दिनुभएको थियो । पत्रकार सम्मेलनमा नेपाली सेनाका बलाधिकृत रथी शरद गिरीको समेत उपस्थिति थियो ।

प्रवक्ता देवकोटाका अनुसार सशस्त्र प्रहरी बलमा रहेका बिरामीलाई वीरेन्द्र सैनिक अस्पतालमा स्थानान्तरण गरी उपचार गराइएको छ । सो अस्पताललाई युनिफाइड कमान्ड हस्पिटललाई डेडिकेटेड कोभिड–१९ उपचार अस्पतालका रुपमा विकास गर्ने गरी भएको निर्णयअनुसार भौतिक पूर्वाधार निर्माणको काम द्रूत गतिमा अगाडि बढेको र अन्तिम चरणमा पुगेको जानकारी दिइयो । सो अस्पतालमा कूल १२० श्यया आइसोलेशन र छ श्यया आइसियु श्यया तयार पारिएको छ ।

यस्तै थप १४ वटा आइसियु श्यया निर्माण सम्पन्न हुने क्रममा छ । नेपाली सेना र अन्य स्वास्थ्य निकायका चिकित्सकले सो अस्पतालमा विशेष सेवा दिने गरी तयार पारिएको छ । यस्तै टेकुस्थित १०० श्ययाको शुक्रराज ट्रपिकल सरुवा रोग अस्पताल र पाटन अस्पताललाई समेत कोभिड–१९ को उपचार गर्ने अस्पतालका रुपमा तयारी अवस्थामा राखिएको छ ।

१०२ मा फोन गरी एम्बुलेन्स सेवा लिन सकिने

प्रवक्ता डा देवकोटाका अनुसार काठमाडौँ उपत्यकाभित्र एम्बुलेन्स सेवा लिनका लागि १०२ मा फोन गर्न सकिनेछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, काठमाडौँ महानगरपालिका र नेपाल एम्बुलेन्स सेवाबीच सम्झौता गरी नेपाल एम्बुलेन्स सेवाको पाँच, काठमाडौँ महानगरको एक, स्वास्थ्य मन्त्रालयको चार गरी कूल १० वटा एम्बुलेन्सलाई कोभिड–१९ का लागि नै सेवा दिने गरी तम्तयारी हालतमा राखिएको छ । काठमाडौँ उपत्यकाभित्र सहजै रुपमा उक्त सेवा लिन सकिनेछ ।

यस्तै नेपाल एम्बुलेन्सलाई सहयोग गर्न चार÷चारवटा ‘इमरजेन्सी मेडिकल टेक्निसियन टिम’ राख्न नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई तयारी हालतमा राखिएको देवकोटाको भनाइ छ । यस्तै सबै जिल्लामा कम्तीमा दुई र प्रदेश सदरमुकाम रहेका जिल्लामा कम्तीमा पाँचवटा एम्बुलेन्स तयारी गरी राख्न लगाइएको छ ।

अत्यावश्यक सामान आपूर्ति गर्नेलाई पास नचाहिने

सरकारको पछिल्लो निर्णयअनुसार खाद्यान्न, फलफूल, तरकारी, दूध तथा दुग्धजन्य पदार्थ, पशुपक्षी तथा माछाको आहार आदिको ढुवानी निर्बाध रुपमा ल्याउन दिइएको छ । त्यस्ता सामग्रीको आयात तथा ढुवानीका लागि आवश्यक पास नचाहिने व्यवस्था गरिएको छ । स्थानीय प्रशासनलाई जानकारी गराएर अत्यावश्यक सामग्री आयात गर्न सकिने व्यवस्था गरिएको छ ।

लामो दूरीमा ढुवानी गर्ने यातायातका साधन र यातायातकर्मीले सहजीकरणका लागि विभिन्न राजमार्गमा न्यूनतम स्थानको पहिचान गरी पेट्रोल पम्प, सवारीसाधन मर्मत गर्ने वर्कशप र आवश्यक होटहरुको सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ । यस्तै कालीमाटी फलफूल तथा तरकारी बजार विकास केन्द्रको वितरण प्रणाली व्यवस्थापन गर्न उपत्यकाभित्र ११ स्थानमा तरकारी तथा फलफूल बिक्री केन्द्र स्थापना गरी सेवा दिइएको छ । त्यसबाट काठमाडौँ उपत्यकामा रहेका नागरिकलाई सहजरुपमा तरकारी तथा फलफूलको खरीदका लागि सहज भएको छ ।

सरकारले कोरोनाको सङ्क्रमण फैलन नदिनका लागि यही चैत ११ गतेदेखि लकडाउन शुरु गरेको हो । लकडाउन शुरु भएपछि यही चैत २८ गतेसम्म भारतबाट कूल ३७ हजार ३३३ मेट्रिक टन खाद्यान्न आयात भएको छ । यस्तै १४ हजार ५३ दाल, २१ हजार ६२५ तरकारी, पाँच हजार ९६० फलफूल, ७९ दुग्धजन्य पदार्थ, २२ हजार ९४३ मेट्रिक टन खाना पकाउने एलपी ग्यास आयात भएको छ । डा देवकोटाका अनुसार रु १० करोड ८७ लाख सात हजार बराबरको औषधिको कच्चापदार्थ र रु ५६ करोड ९७ लाख २८ हजार बराबरको तयारी औषधि आयात भएको छ ।

भारतबाट खाद्यान्न तथा अन्य अत्यावश्यक सामग्री आयातमा समेत सुरक्षात्मक उपाय अपनाइएको छ । खाद्यान्न तथा अन्य सामग्रीको आयात गर्दासमेत कोरोनाको सङ्क्रमण हुने खतरा रहेकाले ती सामग्रीलाई निर्मलीकरण गरी आयात गर्ने व्यवस्था मिलाइएको छ । सामान आयातका लागि आउने सवारी चालक तथा सहयोगीलाई समेत आवश्यक सुरक्षात्मक उपाय अपनाउने व्यवस्था मिलाइएको छ ।

२९ हजार क्वारेन्टाइन श्यया तयार

उहाँका अनुसार हालसम्म देशभर कूल २९ हजार ३८९ क्वारेन्टाइन श्यया तयार भएका छन् । सरकारले तय गरेको मापदण्डअनुसार नै त्यस्ता श्यया तयार भएका छन् । यस्तै तीन हजार ११४ आइसोलेशन श्यया सङ्ख्या व्यवस्थापन भएको छ । त्यस्तै आठ हजार ८२ जना क्वारेन्टाइनमा रहेका छन् भने ८२ जना आइसोलेशनमा रहेका छन् ।

यस्तै पत्रकारको एक जिज्ञासामा प्रवक्ता डा देवकोटाले पैसा, मोबाइल जस्ता सामग्रीबाट पनि कोरोना सङ्क्रमण हुने जोखिम रहेकाले आवश्यक अध्ययन भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हातले ती सामग्री चलाउने भएकाले आवश्यक निर्मलीकरण गर्न वा स्यानेटाइजरको प्रयोग गर्न आग्रह गर्दछौँ ।” उहाँले व्यक्तिगत रुपमा पनि स्वास्थ्य सतर्कता अपनाउन तथा नियमित रुपमा साबुन पानीले हात धुन र सामाजिक दूरी कायम गर्नुपर्नेमा जोड दिनुभयो ।

सिसिएमसीलाई प्रभावकारी रुपमा कार्य सम्पादन गर्न विभिन्न चार कार्य समूह बनाइएको छ । त्यसमा स्वास्थ्य सेवा तथा उपचार, आपूर्ति तथा अत्यावश्यक सेवा, शान्तिसुरक्षा र सूचना तथा प्रविधि कार्य समूह रहेका छन् । केन्द्रले सङ्घीय, प्रादेशिक र स्थानीय तहसम्म निजामती, सुरक्षा निकाय र सबै सरोकारवालासँग एकीकृत रुपमा सहकार्य गरी कोरोना भाइरसविरुद्ध सबै प्रकारका प्रतिकार्य सञ्चालन गर्दै आएको छ ।

यसरी गरिएको छ जनशक्ति व्यवस्थापन

प्रवक्ता डा देवकोटाका अनुसार स्वास्थ्य मन्त्रालयका १८ जना विशेष स्वास्थ्य अधिकृत करारमा लिई तालीम दिइएको छ र उनीहरुलाई परिचालनसमेत गरिएको छ । स्वास्थ्य सेवा विभागमार्फत विभिन्न तहका स्वास्थ्यकर्मीलाई तालीम दिइएको छ । हालसम्म २५ जना चिकित्सक र २९ जना नर्सिङ कर्मचारीलाई आइसियुसम्बन्धी तालीम दिइएको छ ।

नेपाली सेनाको वीरेन्द्र अस्पताल छाउनीको मेडिकल सटोलीद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका २६ जना स्वास्थ्यकर्मीलाई आवश्यक सबै प्रकारका तालीम दिई परिचालन गरिएको छ । सेनाले आफ्ना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका २०÷२० जना चालक र प्यारामेडिक्सलाई कोभिड–१९ फ्रेन्ड्ली एम्बुलेन्स सञ्चालन गर्ने सम्बन्धमा तालीम दिइएको छ । देशभरका १३ स्थानमा पिसिआर विधिबाट परीक्षण भइरहेको छ ।

यस्तै दू्रत परीक्षण सेवा सबै जिल्लामा जारी रहेको छ । विशेष गरी सङ्क्रमित देखिएको र देखिन सक्ने सुदूरपश्चिम प्रदेशका सबै जिल्ला, कर्णाली प्रदेशको जुम्ला र गण्डकी प्रदेशको बाग्लुङ र कास्की तथा काठमाडौँ उपत्यकामा विशेष केन्द्रमा राखी हालसम्म तीन हजार ६०४ स्वाब सङ्कलन गरी परीक्षण गरिएको छ । विभिन्न टोली बनाई स्वाब सङ्कलन गरिएको र स्वाब सङ्कलन गर्ने क्षमतामा विकास गरिएको डा देवकोटाको भनाइ छ । सबै प्रदेशमा पाँच हजारका दरले किट उपलब्ध गराई परीक्षण कार्यसमेत शुरु भइसकेको छ । त्यसबाट सङ्क्रमित भए÷नभएको सहजै पत्ता लाग्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्