कोरोनाबारे संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गर्ने तयारी


काठमाडौं,२३ फागुन । प्रतिनिधिसभाको बैठकमा कोरोना भाइरस (कोभिड–१९)बारे जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गर्ने तयारी छ । शुक्रबार बस्ने बैठकमा कांग्रेस सांसद गगन कुमार थापाले जरुरी सार्वजनिक महत्वको प्रस्ताव गर्ने तयारी गरेका हुन् ।

संसद सचिवालयले सार्वजनिक गरेको शुक्रबारको सम्भावित कार्यसूचीमा पनि त्यो कुरा उल्लेख छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे बस्दै छ ।

सांसद थापाले कोरोनाविरुद्ध सबैजना एकजुट भएर राष्ट्रिय संकल्पको साथ अगाडि बढ्नुपर्ने भएकाले जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्ने तयारी गरेको बताए ।

विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोनाको उच्च जोखिम भएको देशमा सूचीकृत गरेको सन्दर्भमा यससँग जुध्न सरकारले के गरेको छ, अस्पतालको अवस्था के छ भन्ने जस्ता प्रश्नहरुको जवाफ पनि सरकारले सदनलाई दिनुपर्ने संकल्प प्रस्तावमा उल्लेख छ ।

सो प्रस्तावका समर्थकहरुमा सांसदहरु सञ्जयकुमार गौतम, दिव्यमणि राजभण्डारी, राजेन्द्रकुमार केसी र नारायण खड्का छन् ।

 

प्रतिक्रिया दिनुहोस्