कोरोना त्रास : राष्ट्रिय–अन्तर्राष्ट्रिय कार्यक्रम बिथोलिए


काठमाडौं, २१ फागुन । नेपालस्थित कूटनीतिक समुदायले पूर्व निर्धारित कार्यक्रम स्थागित गरेका छन् ।

अमेरिकी दूतावासले २४४ औं स्वतन्त्रता दिवसका अवसरमा फोहोरा दरबारमा शुक्रबार मनाउन लागेको कार्यक्रम स्थगित गरेको छ । कतारले चन्द्रगिरीमा गर्न आइतबार लागेको फुड फेस्टिबल स्थगन गरेको छ । विभिन्न ८२ मुलुक सहभागी रहने दोस्रो अन्तर्राष्ट्रिय रक्त सम्मेलन पनि स्थगित भएको छ ।

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विश्वभरका कूटनीतिज्ञलाई अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी नहुन यसअघि नै आग्रह गरेका छन् । नेपाल सरकारले पनि ठूला जमघट हुने कार्यक्रम नगर्न आग्रह गरेको छ । विदेश भ्रमणको तयारीमा रहेका मन्त्री, सांसद र कर्मचारीले कार्यक्रम स्थगित गरेका छन् ।

संसारभर यस्ता कार्यक्रम स्थागित भइरहेका छन् । राष्ट्रसंघका महासचिव गुटेरेसले न्युयोर्क र अन्य मुलुकमा तय गरेका कार्यक्रम रद्द गराएका छन् । गुटेरसले मुख्य कार्यक्रम छोट्याउन र सहायक कार्यक्रम रद्द गर्न सुझाव दिएका छन् । राष्ट्रसंघकी प्रवक्ता स्टेफनी डुजारिकले विश्वभर कोरोना भाइरस फैलिएका कारण राष्ट्रसंघले सम्पूर्ण ध्यान त्यसतर्फ केन्द्रित गरेको बताएकी छन् ।

चर्को आर्थिक अभाव भोगिरहेको राष्ट्रसंघले यसअघि पनि ठूला कार्यक्रम नगर्न र यात्रा नगर्न आफ्ना कर्मचारीलाई निर्देशन दिएको थियो ।

एसिया र प्रशान्त क्षेत्रमा शान्ति र निःशस्त्रीकरणका लागि संयुक्त राष्ट्रसंघ क्षेत्रीय केन्द्र (यूएनआरसीपीडी) ले काठमाडौंमा बुधबारदेखि तीनदिने कार्यक्रम गर्दैछ । सम्मेलनको तयारी पूरा भएको र पाहुना आइसकेकाले छोटो रूपमा कार्यक्रम सकिने बताइएको छ । अन्नपूर्ण पोस्ट दैनिकबाट

प्रतिक्रिया दिनुहोस्