कोरोना भाइरस महामारी: इटालीमा एकै दिन ९१९ जनाको मृत्यु


काठमाडौं, १५ चैत । इटालीमा नोवेल कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्याले नयाँ उचाइ लिएको छ । शुक्रबार एकै दिन इटालीमा कोभिड–१९ का कारण ९ सयजना भन्दा बढीको ज्यान गएको हो ।

कोरोना भाइरसको महामारी फैलिय यता एकै दिन धेरैको ज्यान जाने दिन बनेको शुक्रबार इटालीमा ९१९ जनाको मृत्यु भएको हो । योसँगै इटालीमा कोभिड–१९ का कारण ज्यान गुमाउनेको कुल संख्या ९ हजार १३४ पुगेको छ ।

युरोपमा कोरोना भाइरसका कारण सबैभन्दा बढी प्रभावित भएको इटालीमा प्रायः सबै चिज बन्द रहेका छन् । तर पनि संक्रमितको मृत्यु हुने क्रम भने कम हुन सकेको छैन ।

लकडाउन अप्रिल तीनपछि पनि लागु हुने शुक्रबार सरकारी अधिकारीले बताएका थिए । कोभिड–१९ कारण सबैभन्दा बढी प्रभावित भएको इटालीको उत्तरी क्षेत्र लोम्बार्दीमा ज्यान गुमाउनेको संख्या तीव्र बढेको हो ।

बिहीबार मृत्यु हुनेको संख्या कम भएपछि अब सो क्षेत्रमा अवस्था सुधार हुँदै गएको हो कि भन्ने अपेक्षा गरिएको थियो । तर शुक्रबार अहिलेसम्मकै धेरैको मृत्यु भएपछि चिन्ता थपिएको छ ।

नयाँ संक्रमण दर भने बिहीबार भन्दा केही कम देखिएको छ । शुक्रबार इटालीमा पाँच हजार ९५९ जनामा नयाँ संक्रमण देखिएको छ ।

इटालीमा कुल संक्रमितको संख्या ८६ हजार ४९८ पुगेको छ । यस्तै देशको दक्षिणी क्षेत्रमा संक्रमण फैलिने चिन्ता पनि थपिएको छ ।

प्रतिक्रिया दिनुहोस्