कोरोना संक्रमणको संकटमा डुब्न थाले बस्ती


झापा, १७ जेठ । होचो ठाउँ कचनकवल गाउँपालिकामा विकासले बाटो लिँदै थियो । एकाएक कोरोना संक्रमणले एकपछि अर्को संकट थप्दै गाउँपालिकालाई थला पार्ने क्रम जारी छ ।

एक त तराई नै भए पनि दुर्गम बस्ती छन् । कतिपय स्थानमा बाटोघाटोसम्म छैन । वर्षायामले ढोका घच्घच्याउँदै गर्दा वडा नम्बर ५ का केही भाग र ४ को पाठामारी क्षेत्रका बस्ती डुब्न थालेका छन् ।

‘गाउँपालिकाले पाठामारी क्षेत्रमा बनाउन लागेको बाँधका लागि छुट्ट्याएको बजेट पनि क्वारेन्टाइन व्यवस्थापनमा खर्च गरेका छौं’, गाउँपालिका उपाध्यक्ष निम्सरी राजवंशीले भनिन्, ‘अब बर्खा लाग्न सुरु भयो, कोरोनाको आतंक छ । कसरी व्यवस्थापन गर्ने भन्ने अलमलमा छौं ।’

कचनकवल राजवंशी, मुस्लिम र आदिवासीको संख्या बढी भएको गाउँपालिका हो । यहाँका बासिन्दा अक्षर चिन्ने अवस्थामा पुगेपछि भारतका मुम्बई, दिल्ली, कोलकातालगायत ठाउँमा रोजगारीका लागि पुग्ने गर्छन् ।

‘यति धेरै भारत गएका रहेछन् भन्ने कल्पना पनि थिएन’, गाउँपालिका अध्यक्ष अञ्जार आलमले भने, ‘भारतबाट दैनिक हुलका हुल भित्रिएका छन् । अझै कति बाटोमा आउँदै छौं भन्छन् । आफ्नै गाउँका नागरिकलाई कसरी नआऊ भन्नु ?’ अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया दिनुहोस्