को हुन् मीर जाफर ? किन सम्झिए ओलीले उनलाई ?


२४ मंसिर । संघीय समाजवादी पार्टी छोडेर आफ्नो पार्टीमा प्रवेश गरेका नेता–कार्यकर्तालाई स्वागत गर्ने क्रममा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बिहीबार पार्टी मुख्यालय धुम्वाराहीमा मीर जाफरको प्रसङ्ग उठाए । आखिर को हुन् त मीर जाफर ? ओलीले यतिबेला उनलाई किन सम्झिए ?

को हुन् मीर जाफर ?

भारतमा प्लासी युद्धका समय बेलायती इस्ट इन्डिया कम्पनीसँग तीन सय सिपाही थिए भने बंगालका नवाव सिराजुदौलासँग १८ हजार सिपाही थिए । अंग्रेजी सेनाका सेनापति रोबर्ट क्लाइबलाई यो युद्ध जित्न सकिँदैन भन्ने थाहा थियो । त्यही भएर उनले आफुसँग थोरै सिपाही भएको भन्दै युद्ध लड्दा हार्ने भन्दै ब्रिटिस संसद्लाई त्यसबेला चिठ्ठी लेखे । तर, नेपोलियन बोनापार्टसँग युद्ध लडिरहेको बेलायतले थप सेना पठाउन सकिँदैन भनेपछि रोबर्ट नयाँ उपायको खोजीमा लागे ।

इतिहासकारहरुका अनुसार, यसक्रममा रोबर्टले बंगाली सेनाभित्र लोभीपापी को छन् खोजेर किन्नका लागि आफ्ना दुईजना सिपाहीलाई जासुसका रुपमा खटाए । सिपाहीले ठूलै सफलता हासिल गरे । चानचुने होइन, नबाब सिराजुदौलाका सेनापति मीर जाफर नै लोभी र फाइदाका लागि देशै बेच्न पछि नपर्ने मानिस रहेको उनीहरुले पत्ता लगाए ।

पूर्वसम्झौता अनुसार बेलायतीले मीर जाफरलाई बंगालको नयाँ नवाव बनाए । तर, त्यही दिनबाट शासनसत्ता जाफरको हातमा होइन, बेलायती सेनापति क्वाइबको हातमा गयो । जाफरलाई अंग्रेजहरुले नवावको होइन, आपसमा बोल्दा ‘कुकुर’ नाम दिएका थिए ।

सेनापति मीर जाफरले दिन–रात एउटै सपना देख्थे, आफू कसरी बंगालको नबाब बन्ने ? प्लासी युद्धका बेला आफू नवाव बन्ने अभिलाषामा तिनै जाफरले नबाब सिराजुदौलालाई धोका दिए र बेलायती सेनापति रोबर्ट क्लाइबलाई साथ दिए । मीर जाफरले रोबर्टलाई साथ दिनुका पछाडि एउटै कारण थियो, रोबर्टले सिराजुदौलाको पतनपछि उनलाई बंगालको शक्तिशाली नवाव बनाउने लोभ देखाएका थिए ।

त्यही लोभमा फँसेर सेनापति मीर जाफरले इस्ट इन्डिया कम्पनीका सैनिकसँग गोप्य सम्झौता गरेका थिए । २३ जुन १७५७ मा जब युद्ध सुरु भयो, बंगालको हार हुने निश्चित थियो । किनभने, अंग्रेजले सेनापतिलाई नै हातमा लिइसकेका थिए । युद्ध सुरु हुनासाथ मीर जाफरका छोरा मीरनले नबाब सिराजदौलाको हत्या गरिदिए ।

आखिर अंग्रेजले जे चाहेका थिए, त्यही भयो । नवाव सिराजुदौलाको फौजले मात्र हारेन, उनी समेत जीवित रहन पाएनन् ।

पूर्वसम्झौता अनुसार बेलायतीले मीर जाफरलाई बंगालको नयाँ नवाव बनाए । तर, त्यही दिनबाट शासनसत्ता जाफरको हातमा होइन, बेलायती सेनापति क्वाइबको हातमा गयो । जाफरलाई अंग्रेजहरुले नवावको होइन, आपसमा बोल्दा ‘कुकुर’ नाम दिएका थिए ।

कठपुतली सरकार धेरै दिन टिकेन । जे योजना थियो, त्यही भयो । जाफर विदा भए, भारतमा इस्ट इन्डिया कम्पनीको राज सुरु भयो । त्यसपछि भारतका अनेक राज्यसँग एकपछि अर्को लडाइँ हुँदै गयो, अंग्रेजले जित्दै गए । अन्ततः भारत करिब दुई सय वर्षसम्म बेलायती उपनिवेशमा बस्न बाध्य भयो ।

देशभित्रको भन्दा बाहिरको चिन्ता लिनेहरुलाई पूर्वप्रधानमन्त्री ओलीले मीर जाफरको संज्ञा दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्