क्यानडा विद्युतमा लगानी गर्न इच्छुक


काठमाडौं, २७ असोज । नेपालको भ्रमणमा रहेको क्यानडाको उच्चस्तरीय औद्योगिक प्रतिनिधिमण्डलले बिहीबार नेपाल उद्योग परिसंघका पदाधिकारीसँग भेट गरेको छ । क्यानडाका संसद् सदस्य ब्राड ट्रोस्टको नेतृत्वको प्रतिनिधिमण्डललाई स्वागत गर्दै परिसंघका अध्यक्ष हरि भक्त शर्माले नेपालमा विकासका आधारका साथै लगानीको उचित वातावरण सिर्जना भएको भन्दै क्यानडाका उद्योगीका लागि समेत नेपाल लगानीको राम्रो गन्तव्य हुने बताए । नेपालमा सञ्चालित बहुराष्ट्रिय कम्पनीले लगानीको राम्रो प्रतिफल प्राप्त गरिरहेको तथा उनीहरूले आप्mनो मुनाफा फिर्ता लग्ने विषयमासमेत कुनै समस्या नरहेको उनले जानकारी गराएका थिए । नेपालमा लगानीको राम्रो वातावरण तयार हँुदै गरेको अवस्थामा परिसंघ नेपालको निजी क्षेत्रका तर्फबाट क्यानडाका समकक्षीसँग सहकार्य गर्न तयार रहेको उनको भनाइ थियो । नेपालले ठूला जलविद्युत आयोजनामासमेत विशेष जोड दिएको उल्लेख गर्दै उनले विद्युत प्रसारण लाइनको सुधार र नयाँ लाइन निर्माण तत्काल आवश्यक रहेकोले सो क्षेत्रमा लगानीमा जोड दिए ।

सांसद ब्राड ट्रोस्टले नेपालको विकास एवं समृद्धिका लागि नेपाली उद्योगीसँग सम्बन्ध विस्तार एवं लगानी गर्न आफूहरू इच्छुक रहेको र नेपाल विद्युत प्राधिकरणको विद्यमान संरचनाभित्र अलग अलग निकायको व्यवस्था मिलाउन सके क्यानडाले नेपालको विद्युत प्रसारण लाइनको विकास र सुधारमा नेपालको निजी क्षेत्रसँगको सहकार्यमा लगानी गर्न र यस विषयमा नेपाल सरकारसँग छलफल गर्न आफूहरू इच्छुक रहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्