क्लिन जिरी बनाउन हातमा झाडु बोकेर निस्के सांसदहरु


दोलखाको जिरी नगरपालिकामा ‘क्लिन जिरी ग्रिन जिरी’ अभियान अन्र्तगत सरसफाई अभियान सुरु भएको छ ।
‘क्लिन जिरी ग्रिन जिरी’ निर्माणका लागि जिरी नगरपालिकाको वडा नम्वर ६ बाट सरसफाई अभियान सुरु गरिएको हो । नगरपालिकाको वडा नम्वर ६ स्थित मानेडाँडा टोलसुधार समितिको अगुवाईमा सुरु भएको सरसफाई अभियानको दोलखाका प्रतिनिधिसभा तथा प्रदेशसभाका सांसदहरुले संयुक्त रुपमा सुरुवात गरेका थिए । प्रतिनिधिसभाका सांसद पार्वत गुरुङ र शान्तिमाया पाख्रिन तथा प्रदेशसभा सांसद पशुपति चौँलागाई, विशाल खड्का र हिमाली गोले पनि झाडु लिएर सरसफाईमा सहभागि भएका हुन् ।
जिरीलाई प्लाष्टिकमुक्त र अर्गानिक क्षेत्र बनाउनका लागि ‘क्लिन जिरी ग्रिन जिरी’ अभियान सुरु गरिएको नगरपालिकाका मेयर टंक जिरेलले जानकारी दिए । उनका अनुसार शनिबारदेखि सुरु भएको सरसफाई अभियान नगरपालिका भित्रको सबै टोल–टोलमा सञ्चालन हुनेछ ।

सरसफाई अभियानमा सांसदहरुका साथै जिरी नगरपालिकाका जनप्रतिनिधि, नेपाली सेना, नेपाल प्रहरी, जिरी अस्पताल लगाएत जिरीस्थित सम्पुर्ण संँघसंस्था र कार्यालयका साथै टोल सुधार समितिका पदाधिकारी तथा सदस्य र प्रत्यक घरबाट एक–एक जना सहभागि थिए ।

प्रतिक्रिया दिनुहोस्