क्षतिपूर्ति नपाए सिंहदरबार घेर्ने भोटेकोशी पीडितको उद्घोष


२ साउन। भोटेकोशी बाढी पीडितहरुले आफ्ना समस्यालाई बेलैमा सरकारले सम्बोधन सिंहदरबार घेराउ गर्ने चेतावनी दिएका छन् । उनीहरुले आइतबार काठमाडौंको तीनकुनेमा एक भेलाको आयोजना गरी यस्तो चेतावनी दिएका हुन् ।

पीडितहरुले तातोपानी नाका खोल्नु पर्ने,अरनिको राजमार्ग मर्मतको काम बेलैमा गर्नुपर्ने, पीडितहरुलाई क्षति पूर्तिको व्यवस्था तत्काल गरिनुपर्ने लगायतका माग अघि सारेका छन् ।

विभिन्न माग राख्दै सरकारलाई दबाब दिन काठमाडौंआईपुगेका पीडितहरुले बिभिन्न राजनीतिक दलका नेताहरुलाई प्रतिवद्धता समेत गराएका छन् । भर्खरै भोटेकोशीमा आएको बाढीले ८० भन्दा बढी पक्की घर भत्काएर नदीमा लगे पनि सरकारी निकायबाट कुनै पहल नभएको भन्दै उनीहरुले दुःख व्यक्त गर्दै आएका छन् ।

पीडितहरुको गुनासो सिंहदरबारसम्म लैजाने उदेश्यले सिन्धुपाल्चोक उद्योग बाणिज्य संघको अगुवाईमा भएको साक्षात्कारमा पनि पीडितहरुले त्यहि गुनासो गरेका थिए । पुल्पिङकटी गाविस निवासी कमलकुमार श्रेष्ठले पनि पीडितहरुका माग सुुनुवाई नभए सिंहदरबार घेराउ गर्नुको अर्को विकल्प नभएका बताए ।

‘तातोपानी नाका हुँदै दैनिक अरवौँ व्यापार हुने भए पनि हाल अरनिको राजमार्ग बाढीले बगाएपछि व्यापार ठप्प भएको छ,’ श्रेष्ठले भने, ‘अहिले हजारौँ बेरोजगार भएका छन् । यस क्षेत्रमा भएको यति ठूलो क्षतिका बारेमा राज्य भने अझै वेखवर जस्तै छ ।’

निमफुञ्जो शेर्पाले पनि यस्तै अवस्था रहे सिंहदरवार घेरेर भएपनि क्षतिपूर्तिका लागि पहल गर्ने चेतावनी दिए। ‘जुरे पहिरो, महाभूकम्प र भोटकोशी बाढीले सिन्धुपाल्चोकलाई लथालिङ्ग भएको छ,’ उनको गुनसो छ । नेपाल हिमालय सिमापार बाणिज्य संघका अध्यक्ष बिष्णुवहादुर खत्रीले पनि नीजी क्षेले केही चासो राखे पनि सरकारी निकायले राहत र क्षतिपूर्तिका सवालमा ध्यान नदिएको भन्दै चिन्ता व्यक्त गरे ।

चीनको तिब्बत क्षेत्रमा आएको बाढीले सिन्धुपाल्चोकको तातोपानी,लिस्ती,मार्विन,फुल्पिङकटी,गातीलगायतका क्षेत्रका पक्की घरहरु र अरनिको राजमार्गको बाह्रवीसे तातोपानी खण्डको २५ किलोमिटर सडक पूर्ण रुपमा क्षति भएको छ । सो क्षेत्रका वासिन्दा विद्यूत, टेलिफोनलगायतका सुविधानबाट पूर्णरुपमा बञ्चित छन् ।

प्रतिक्रिया दिनुहोस्