खनाल भन्छन्ः प्रसङ्ग मिलेन भद्र सहमतिबारे नबोलौं


t

२१ जेठ ।
एमाले वरिष्ठ नेता झलनाथ खनालले एमाओवादीसँगको भद्र सहमतिबारे बोल्नु अप्रासङ्गिक हुने बताएका छन् । धुम्बाराहीस्थित पार्टी कार्यालयमा एमालेले आयोजना गरेको पत्रकार सम्मेलनमा भने,‘यो विभागलाई पूर्णता दिइएको विषयमा आयोजित पत्रकार सम्मेलन भएकाले अप्रासङ्गिक विषयमा बोल्दिन ।’

उनले पत्रकारहरुलाई पनि विषयान्तर गरेर प्रश्न सोधेको प्रति असन्तुष्टि जनाए । ‘राजतन्त्र उन्मूलन र संविधान बनाउने काम प्रमुख पार्टीहरु एउटा साझा सहमतिमा पुग्दा सम्भव भएको हो, त्यसैले संविधान कार्यान्वयनका लागि पनि राम्रो समझदारीका साथ सहमति हुनुपर्छ, उनले भने ।

जो प्रधानमन्त्री बन्दा पनि हुन्छ

कार्यक्रममा एमाले महासचिव ईश्वर पोखरेलले प्रमुख दलबीचको सहमतिमा जो पनि प्रधानमन्त्री बन्न सक्ने बताए । एमाले–एमाओवादीबीच बजेटपछि प्रचण्डलाई प्रधानमन्त्री बनाउने भद्र सहमतिबारे पत्रकारहरुले राखेको जिज्ञाशामा पोखरेलले भने,‘बैठकका प्रतिनिधिहरु हामी पनि हौं तर भद्र सहमति मलाई थाहा छैन । तर, सहमति बन्दा प्रचण्ड या कांग्रेसका तर्फबाट जो प्रधानमन्त्री बन्दा पनि हुन्छ ।’

उनले सहमतिका आधारमा नयाँ सरकारको नेतृत्वलाई एमालेले समर्थन गर्ने पनि प्रष्ट पारे । ‘सहमतिका आधारमा बन्ने सरकारप्रति हाम्रो सहमति हुन्छ तर त्यो सरकार मुख्य दलहरुको सहमतिमा बन्नुपर्छ , पोखरेलले भने, ‘एमालेले पहिल्यैदेखि राष्ट्रिय सहमतिको सरकार बन्नुपर्छ भन्दै आएकै छ ।’

विभाग मनोनयनका लागि गठित कार्यदलका समेत संयोजक रहेका पोखरेलले मेहनतपूर्वक सर्बसहमतिमा विभागका सदस्यको नाम टुंग्याउने प्रयास गर्दा गठनमा ढिलाई भएको बताए ।

प्रतिक्रिया दिनुहोस्