खेलकुद मन्त्रीको आह्वानः अब हजुरबा–हजुरआमाका लागि स्थानीय खेल मैदान


काठमाडौं, २९ जेठ । युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले अब हजुरबा–हजुरआमाहरुका लागि स्थानीयस्तरमै खेल मैदान बनाउनुपर्ने योजना सुनाएका छन् । मंगलबार राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको ‘‘राष्ट्रपति खेलकुद महिला सहभागिता अभिवृद्धि’’ विषयक अन्तरक्रिया कार्यक्रममा मन्त्री विश्वकर्माले त्यस्तो योजना सुनाएका हुन् ।
शारिरीक ब्याययमको अभावमा सुगर र प्रेसरको रोगी बढिरहेको भन्दै मन्त्री विश्वकर्माले त्यसलाई घटाउन स्थानीयस्तरमै खेल मैदानलाई अभियानकै रुपमा अघि बढाउनुपर्नेमा जोड दिए । ‘शारिरीक ब्यायमको अभावमा अहिले सुगर र प्रेसर जस्ता रोगी बढिरहेका छन्, मन्त्री विश्वकर्माले भने,‘अब स्थानीयस्तरमै खेल मैदान बनाउने अभियान सुरु गरेर हाम्रा हजुरबा–हजुरआमाहरुलाई खेलाउन जरुरी छ ।’ स्वस्थ र दीर्घायू जीवनका लागि पनि यसलाई अभियानकै रुपमा अघि बढाउनुपर्ने उनले प्रष्ट्याए ।
सरकारले एक स्थानीय तह, एक खेल मैदान, एक निर्वाचन क्षेत्र एक रंगशालाको अभियान अघि बढाउन खोजिरहेका बेला खेलकुद मन्त्री विश्वकर्माले खेलकुदलाई स्वास्थ्यसँग जोडिएको मौलिक अधिकारकै रुपमा स्थापित गर्नेगरी अघि बढाउनुपर्नेमा जोड दिए । ‘सबैका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद र राष्ट्रका लागि खेलकुद’’ मूल नाराका साथ राष्ट्रव्यापी अभियान तीब्र बनाउनुपर्ने विश्वकर्माको भनाई थियो ।
एक अर्को प्रसंगमा खेलकुद मन्त्री विश्वकर्माले खेलकुदको माध्यमबाट महिला हिंसा कम गर्न सकिनेसमेत उदाहरण प्रस्तुत गरे । खेलकुदमा महिला सहभागिता बढाउन सरकारले आवश्यक बजेट बिनियोजन गरिसकेको उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्