खेल्ने बालबालिका हँसिला र आत्मविश्वासी


काठमाडौं, १८ माघ । शारीरिक व्यायाम र मानसिक कसरत हुने पहिलेका खेललाई अचेल मोबाइल, आइप्याडले विस्थापित गरेको छ । मानिसको सहयोगी (दास) प्रविधि होइन, प्रविधिको दास मानिस बन्दै गएको छ ।

बाल्यकालमा जाडो महिनाको बिदा हुँदा गुच्चा खेलेको झलझली सम्झना आउँछ जनकवि दुर्गालाल श्रेष्ठलाई । उनले सहरका गल्ली, सडकमै गुच्चा खेल्दै कुद्ने गरेको सम्झना कहिल्यै बिर्सन नसक्ने बताए । उनले ती दिन धेरै रमाइला थिए ।

‘असनको चोकमा गुच्चा खरिद गर्न जान्थ्यौँ । एक पैसाको खरिद गथ्र्यौं होला त्यति सम्झना त भएन तर पनि खल्तीभरि गुच्चा हुन्थे । मोबाइलको जमानामा भने अचेल सहरमा गुच्चा खेल्ने बालबालिका पाउन गाह्रै छ । एक त खेल्ने ठाउँ पर्याप्त छैन, अर्को मोबाइलमै झुम्मिन्छन् प्रायः सबै बालबालिका’, उनी भन्छन् ।

संस्कृतविद् सत्यमोहन जोशी आफ्नो निशानामा तारो हान्ने एकाग्र शक्ति वृद्धि गर्ने खेलमध्ये मेरो रोजाइ गुच्चा हो । काँचका गोला गुच्चा हाम्रो बगलीमा प्रायः सबैसँग हुन्थे भन्छन् । उनले गुच्चाले हानेर टाढाको गुच्चा ठोक्के ताक विकास गर्न निकै अभ्यास गरिन्थ्यो, बाल्यपनको सम्झना गर्दै घरका भित्तामा गुच्चा हानेर अभ्यास गर्दा भित्ताभरि दाग बस्थे । त्यो बदमासीको सजाय पनि पाइन्थ्यो भन्ने कुरा स्मरण गरे ।

गुच्चा दुई जनाको बीचमा खेलिन्छ । हार–जितमा गुच्चा नै लिने वा हार्नेले आफ्नो खुट्टाको गोलीगाँठोमा गुच्चाको ठोकाइ खाने सहमतिमा खेल सुरु हुन्थ्यो । गोलीगाँठो ठोक्ने सजायलाई ‘गौ छ्या य्गु’ भनिन्छ । जित्नेको दयामायामा त्यो ठोकाइ साह्रो या सामान्य हुन आउँछ । कहिले काहीँ रुनैपर्ने गरी ठोकाइ खाइन्छ ।

हामी सबै नेवारीमा खेल्थ्यौँ, नेवारी बोल्थ्यौँं । शारीरिक एवम् मानसिक तन्दुरुस्तीका लागि बाल्यवस्थामा खेलकुद र मनोरञ्जनलाई अहिले पनि प्रोत्साहन गर्नुपर्ने जोशीको सुझाव छ ।

चिकंमुगल टोलको कृष्ण सत्तलमा बुबाको पालादेखि खेलौना पसल गर्दै आएका दीपेन्द्रकुमार रञ्जितकार पहिले गुच्चा खरिद गर्न बालबालिका खुब आउँथे । ‘तीन सय जति गुच्चाका प्याकेटको पहिले दुई रुपियाँ मात्र पथ्र्यो । एक सुका वा एक मोहोर हुनु नै ठूलो कुरा थियो, त्यो बेला’, उनी भन्छन् ।

टोलकै र अरू नजिकका ठाउँबाट पनि बालबालिका त्यहाँ गुच्चा किन्न आउँथे, एक पैसा वा दुई पैसा बोकेर । गुच्चा खेल्दा जितेर बालबालिकाले जम्मा पारेका १५० वा दुई सय गुच्चा बेच्न पनि आउँथे । चहलपहल निकै हुन्थ्यो, बालबालिकाको ।

अहिले बालबालिकाले गुच्चा खेल्नै छाडिसकेको उनी बताउँछन् । त्यसरी गुच्चा किन्न आउने बालबालिका नै लगभग शून्य भइसके, बेच्न आउने त टाढैको कुरा हो । रञ्जितकार खेल्ने ठाउँ छैन, सडक र गल्ली गाडी र मोटरसाइकलले ढाकिसके, खुला ठाउँ हराइसक्यो भन्छन् । उनी मोबाइल, टिभीमा कार्टुन भएपछि दङ्ग पर्ने अहिलेको पुस्ताले गुच्चा पनि मोबाइलमै खेल्न बेर छैन ! अहिले बढी चल्ने खेलौना चाइनिज कार, प्लास्टिकको बन्दुक, ब्याट, बल बिक्री हुन्छ भन्छन् ।

बालविवाहको चलन रहेको उतिबेला केटा र केटी सँगै खेल्न हुँदैन भन्ने सामाजिक मान्यताले गर्दा भाइबाहेक अरू केटा साथीसँग नखेलेको अभिनेत्री वसुन्धरा भुसाल बताउँछिन् । उनले बाल्यकालमा गट्टा, तेलकासा, कबड्डी, रुमाल लुकाई, डोरी तानातान, पिङ, ढक्का, वनभात खाने, पुतली, गुच्चा जस्ता खेल खेलेको बताउनुभयो । बालापन धोबीचौरमा बिताएकी भुसालले आफ्नो बालापन नसम्झेको धेरै भएको थियो अहिले ती रमाइला दिन सम्झँदा ज्यादै खुसी लागिरहेको बताइन् ।

उनले बाल्यकालमा गरेको उपद्रो सम्झेर मुस्कुराउँदै त्यसबेला पुरुष रुँदै मलामी जान्थे, हामी भने पुतलीको लास बनाएर रोएको जस्तो गर्दै मलामी गएको नाटक गथ्र्यौं । भाइसँग गुच्चा किन्न जान्थ्यौँ अनि रमाइलो गरी खेलेको दिन भुल्न सक्दिन । अहिलेका बालबालिकाले उतिबेला जस्तो खेल खेलेर रमाइलो लिन सकेनन् र अब त झन् सक्दैनन् । हामीले जस्तो उत्कृष्ट बालापन बिताउने अवसर अबका केटाकेटीलाई छैन किनभने उनीहरूलाई प्रविधिले दास बनाइसक्यो भन्छिन् ।

नेपालकै पहिली नायिका भुवन चन्दले बाल्यकालमा गट्टा, तीनखुट्टी, गुच्चा, लुकामारी जस्ता खेल खेलेको मलाई धेरै याद छैन । ‘सानैदेखि कलाकारितामा लागेकाले खेल्ने फुर्सद धेरै भएन’, उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस्