गगनलाई पन्छाएर विश्वप्रकाशलाई प्रवक्ता


२६ पुस । नेपाली कांग्रेसभित्र व्याप्त चरम विवादको असर प्रवक्ता चयनमा समेत पर्न पुगेको छ । प्रतिनिधि र प्रदेशसभाको निर्वाचनपछि दोस्रो शक्तिको रुपमा खुम्चिन पुगेको कांग्रेसमा संस्थापन पक्ष र रामचन्द्र पौडेल समूहबीच विवाद देखिँदै आएको छ । पौडेल पक्षले संस्थापन पक्षको गलत नीतिका कारण निर्वाचनमा पराजय बेहोर्नु परेको बताउँदै आएको छ ।

कांग्रेसभित्र विवाद बढ्दै जाँदा त्यसको असर प्रवक्ता चयनमा पर्न पुगेको छ । सम्भावित प्रवक्ताका रुपमा हेरिएका प्रभावशाली युवा नेता गगन थापालाई पन्छाएर सभापति शेरबहादुर देउवाले अर्का युवा नेता विश्वप्रकाश शर्मालाई प्रवक्ता तोकेका छन् । थापा प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौं–४ बाट निर्वाचित सांसद हुन् भने शर्माले झापा–१ बाट निर्वाचनमा पराजय भोगेका थिए ।

निर्वाचनमा कांग्रेसले नराम्रो पराजय बेहोर्नु परेपछि युवा नेता थापाले सभापति देउवाको तीव्र आलोचना गर्दै आएका थिए । नेतृत्वको गलत शैलीका कारण निर्वाचनमा पराजय बेहोर्नु परेको थापाको तर्क रहँदै आएको छ । आफूमाथि सांसद थापाले प्रहार गर्न थालेपछि रुष्ट भएका सभापति देउवाले चुनाव हारेका अर्का युवा नेता शर्मालाई कांग्रेसको शक्तिशाली पद मानिने प्रवक्तामा नियुक्त गरेका हुन् ।

निर्वाचनअघि भने सभापति देउवाले थापालाई प्रवक्तामा चयन गर्ने तयारी गरेका थिए । थापालाई प्रवक्ता चयन गरेर देशव्यापी चुनावी अभियान सञ्चालन गर्ने कांग्रेसले तयारीसमेत थालेको थियो । तर, अन्तिम समयमा आएर संस्थापन पक्षले थापालाई न त प्रवक्तामा नियुक्त नै गरे, न त देशव्यापी चुनावी सभामा वक्ताका रुपमा खटाउन नै चाहे । बरु, सभापति देउवा स्वयंले चुनावी कार्यक्रमहरुमा प्रमुख वक्ताका रुपमा सहभागी जनाए र अधिकांश सभामा उनले वाम गठबन्धनले देशमा अधिनायकवाद आउने खतरा रहेको बताए ।

कांग्रेस महाधिवेशन भएको दुई वर्ष बित्न लाग्दा पनि सभापति देउवाले पदाधिकारी र विभागलाई पूर्णता दिएका छैनन् । उपसभापति, महामन्त्री र सहमहामन्त्रीहरु अहिलेसम्म नियुक्त हुन सकेका छैनन् । अधिकांश केन्द्रीय विभागहरुले पनि पूर्णता पाएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्