गगनले भने–‘ओलीले चीनसँग गरेका सम्झौता सही छन्, भारतसँग झुक्दैनौँ’


१५ साउन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले संविधान कार्यान्वयनका लागि नेकपा (एमाले)लाई पनि साथमा लिएर अगाडि बढ्नुपर्ने बताएका छन् ।

खरिपाटीमा नेपाली कांग्रेस नगरकोट नगरसमितिले आयोजना गरेको ‘संविधान कार्यान्वयन र नेपाली कांग्रेसको भूमिका’ विषयको अन्तक्र्रिया कार्यक्रममा सांसद थापाले संविधान कार्यान्वयनका लागि एमालेसँगको सहकार्य आवश्यक छ भने ।

प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँग गरेको विभिन्न सम्झौता अब बन्ने सरकारले कार्यान्वयन गर्ने उनले बताए । नेपालले भारत र चीनसँग बराबरको सम्बन्ध राख्नुपर्ने बताउँदै उनले भने– ‘नेपालले दुवै देशको हस्तक्षेप सहँदैन, नेपाल चीन र भारतको राजनीतिसँग खेल्दैन, नेपालको राजनीतिसँग पनि खेल्न दिदैनौँ।’

उनले आगामी चैत अन्तिममा स्थानीय निर्वाचन र जेठमा प्रान्तको निर्वाचन हुनुपर्नेमा जोड दिँदै जेठमा प्रान्तको निर्वाचन हुन नसके एकै पटक प्रान्त र केन्द्रको निर्वाचन गर्न सकिने बताए ।

कार्यक्रममा कांग्रेसका केन्दीय सदस्य एवम् नेपाल महिला सङ्घका केन्द्रीय अध्यक्ष डिला सङ्ग्रौलाले विपक्षी दल, साना दल र मधेसकेन्द्रित दललाई आफूसँगै ल्याएर कांग्रेस अगाडि बढ्नुपर्ने बताइन् ।

सांसद रामेश्वर ढुङ्गेलले जबसम्म स्थानीय निकायको निर्वाचन हुँदैन, तबसम्म संविधान कार्यान्वयन हुँदैन भने । रासस

प्रतिक्रिया दिनुहोस्