गणतन्त्र नेपालको समावेशी तस्वीर


२८ असार । सम्भवतः संसारमा कुनै पनि मुलुकको तस्वीर यति इन्द्रेणी हुँदैन होला । २ सय ४० वर्ष पुरानो सामन्ती राजतन्त्र उखेलेर लोकतान्त्रिक गणतन्त्र स्थापना भएको आठ वर्षमै नेपालको समावेशी अनुहार विश्वमा देखाउन लायक भएको छ ।

सोमबार प्रधानन्यायाधीशका रुपमा सुशीला कार्कीले शपथ लिएपछि विश्वमा पाँच उच्च पदमध्ये तीनमध्ये महिला भएको विरलै दृश्य नेपालमा दे्खिएको छ । विश्वका सञ्चारमाध्यमहरुले पनि उक्त समाचारलाई महत्वका साथ स्थान दिएका छन् ।

सोमबारै अर्को संवैधानिक अंग निर्वाचनमा आयोगले पनि प्रमुख निर्वाचन आयुक्तका रुपमा समावेशी अनुहार पाएको छ । आयुक्तका रुपमा त्यहीँ कार्यरत डा. अयोधीप्रसाद यादव मधेसी मूलबाट प्रमुख निर्वाचन आयुक्त बन्ने पहिलो व्यक्ति हुन् ।

नेपालले गत कात्तिकमै महिला राष्ट्रपति निर्वाचित गर्ने विश्वका थोरै मुलुकमध्ये आफ्नो नाम लेखाइसकेको छ । विद्यादेवी भण्डारी राष्ट्रपति निर्वाचित भएको केही समयपछि नै व्यवस्थापिका–संसद्मा अर्को कीर्तिमान कायम भएको थियो । ओनसरी घर्ती सभाुमख हुँदा महिला मात्र नभएर जनजाति मूलले पनि महत्व पाएको थियो । उपराष्ट्रपतिमा पनि जनजाति मूलकै नन्दबहादुर पुन निर्वाचित भएका थिए ।

गणतन्त्र आउनासाथ नेपालको प्रथम राष्ट्रपतिका रुपमा मधेसी मूलका डा. रामवरण यादव निर्वाचित भएका थिए भने उपराष्ट्रपतिमा पनि मधेसी मूलकै परमानन्द झा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्