गलत काम गर्ने व्यवसायी हुन् या प्राविधिक कसैलाई छोडिँदैनः महासेठ


काठमाडौँ, ३ असार । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले निर्माण व्यवसायीलाई अब कुनै किसिमको धरपकड नगरिने प्रतिबद्धता जनाएका छन ।
निर्माण व्यवसाय विकास परिषद्को आइतवार भएको बैठकमा उनले व्यवसायीलाई विगतमा जस्तो व्यवहार नगरिने स्पष्ट गरे । सो अवसरमा नेपाल निर्माण व्यवसायी महासंघ प्रतिनिधिमण्डलको ज्ञापनपत्र बुझ्दै मन्त्री महासेठले निर्माण व्यवसायीलाई धरपकड भएमा तुरुन्त आफूलाई खबर गर्न आग्रह गरे।
निर्माण ढिलो हुनुमा व्यवसायी मात्र दोषी नरहेको उल्लेख गर्दै उनले, “कतै रुख काटेको हुँदैन, कतै बिजुलीको पोल सारेको हुँदैन, यस्ता कारणले पनि निर्माण ढिलो भएको छ, त्यसैले व्यवसायीलाई मात्र दोष दिन मिल्दैन ।” निर्माणमा कमजोरी देखिए व्यवसायी मात्र नभई प्राविधिक पनि दोषी ठहरिने मन्त्री महासेठको भनाइ थियो ।

विकासनिर्माणलाई छिटोछरितो बनाउन ‘साइट क्लियरेन्स’ नगरी बोलपत्र आह्वान नगर्न आफूले सडक विभागलाई निर्देशन दिइसकेको बताए । डिजाइनको काम पनि अब सरकारले गर्ने मन्त्री महासेठले बताए ।

“जानीजानी गलत काम गर्ने कसैलाई छोडिँदैन, गलत काम गर्ने व्यवसायी हुन् या प्राविधिक, कारवाही हुन्छ”, उनले भने।

प्रतिक्रिया दिनुहोस्