गान्धी भवनमा उभिएर योगेश भट्टराईले भने– ‘फास्टट्रयाकमा भारतले किन आँखा लगाएको ?’


२१ भदौ । नेकपा (एमाले) का सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले भारतले ‘होल्ड’ गरेका ठूला परियोजनाहरू निर्माण हुन नसक्नुले भारतको नियतमाथि नै गम्भीर प्रश्न उठेको बताएका छन् ।

प्रवासी नेपाली संघ भारत, उत्तर प्रदेश राज्य समितिको आठौं सम्मेलनको उद्घाटन गर्दै लखनउको गान्धी भवनमा भट्टराईले यस्तो बताएका हुन् । उनले भारतीय सरकार र भारतीय कम्पनीहरुले होल्ड गरेका पञ्चेश्वर बहुउद्देश्यीय परियोजना, माथिल्लो कर्णाली, अरुण तेस्रो, हुलाकी राजमार्गलगायत निर्माण कार्य अघि बढ्न नसक्नुले भारतको नियतमै प्रश्न उठेको बताए ।

‘आफूले होल्ड गरेका परियोजना नबनाउने अनि फेरि फास्टट्रयाकलगायत आयोजनामा किन भारतले आँखा लगाउँदैछ ?’ उनले प्रश्न गरे । उनले फास्टट्रयाक भारतलाई दिन नसकिने दाबी पनि गरे । उनले भारतलाई फास्टट्रयाकमा आँखा नलगाउन सुझावसमेत दिएका थिए ।

नेपालले दुवै छिमेकी देश भारत र चीनसँग समानतामा आधारित भएर असंलग्न आन्दोलन तथा पञ्चशीलका सिद्धान्तका आधारमा सम्बन्ध स्थापित गर्न चाहेको भट्टराइको भनाइ थियो ।

सचिव भट्टराईले नेपाल भारतसँग भाषा, संस्कृति र दैनिक व्यवहारका आधारमा र चीनसँग व्यापारका साथै ऐतिहासिक आधारमा सम्बन्ध रहेको बताए । तर, छोटे भाइ र बडे भाइका आधारमा कसैले कुरा गरे एमालेलाई मान्य नहुने चेतावनी पनि उनले दिए । उनले भने ‘हामी भाइ–भाइ र मित्रका आधारमा सम्बन्ध सुदृढ गर्न चाहन्छौं ।’

तीस लाख भारतीय नेपालमा

सचिव भट्टराईले तीस लाखभन्दा बढी भारतीयहरुले रोजगारी पाएको उल्लेख गर्दै दुवै देश श्रमिकहरुका समस्याप्रति संवेदनशील हुनुपर्ने बताए । ‘नेपालीहरु मात्रै भारतमा काम गरिरहेका छैनन्, दुवै देशका सरकारले छिमेकी देशका श्रमिकहरुका समस्याप्रति संवेदनशील हुनुपर्दछ,’ उनले भने– ‘भारतका विभिन्न सहरमा नेपालीहरुमाथि भइरहेका दूव्र्यवहारप्रति भारत सरकार गम्भीर बन्नुपर्छ ।’

उनले भारतका लागि रेमिट्यान्स भित्र्याउने नेपाल पाँचौं मुलुक भएको भन्दै भारतको अर्थतन्त्रको महत्वपूर्ण हिस्सा नेपाल पनि भएको बताए ।

भारतको स्वतन्त्रता संग्राममा नेपालीको सहयोग

कार्यक्रममा बोल्दै नेता भट्टराईले नेपाल कसैको उपनिवेश नबनेको र भारतको स्वतन्त्रता संग्राममा भने नेपालीले सहयोग गरेको दाबी गरे । ‘भारतीय नेताहरुले यो नभुलून् नेपाल कहिल्यै पनि कसैको उपनिवेश बनेन,’ उनले भने ‘उनीहरु यो पनि बुझून् कि भारतको स्वतन्त्रता संग्राममा नेपाली जनताले पनि सहयोग गरेका थिए ।’

मोदीले प्रतिबद्धता पूरा गरेनन्

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको प्रतिबद्धता पूरा नगरेको उनले बताए । नेपालबाट भारतमा फोन गर्दा सस्तोमा हुन्छ तर भारतवाट नेपालमा गर्दा अत्यन्तै महँगो हुने गरेको उनको भनाइ थियो । ‘भारतीय प्रम मोदीले नेपालको पहिलो भ्रमणमा नै यसलाई हल गर्ने आश्वासन दिनुभएकोमा अझै पूरा भएको छैन,’ उनले भने ‘एमालेका तर्फबाट हामी यसका लागि पहल गर्नेछौं ।’

को–को चयन भए ?

नेता भट्टराईले प्रवासमा रहेर श्रम तथा व्यवसाय गरी आर्थिक उपार्जन गरिरहेका नेपालीहरुका लागि देशभित्र सञ्चालित हुने राष्ट्रिय गौरवका विकास आयोजनामा लगानी गर्ने तथा सेयर लिन पाउने व्यवस्थाका लागि एमालेले पहल गर्ने बताए । प्रवासमा बस्ने नेपालीहरुलाई चुनावमा मतदान गर्न पाउने व्यवस्था मिलाउन पार्टीले कानुनी र प्रक्रियागत पहल गर्ने पनि बताए । नेपालको लोकसेवा र अन्य परीक्षामा अनलाइन परीक्षा दिने प्रबन्ध मिलाउन एमालेले सकारात्मक पहल गर्ने नेता भट्टराईको भनाइ थियो ।
उक्त सम्मेलनले राजु थापाको नेतृत्वमा सर्वसम्मत रुपमा प्रवासी नेपाली संघ भारत, उत्तर प्रदेश राज्य कमिटी निर्वाचित गरेको छ । संघका उपाध्यक्षहरुमा दिवाकर अधिकारी, कुलबहादुर थापा र दानबहादुर खड्का, सचिवमा रमेश आचार्य, सहसचिवमा प्रेम जैगडी र सञ्जय केसी र कोषाध्यक्षमा तुल्सीराम पन्थी चयन भएका छन् । यस्तै सदस्यहरुमा नारायण कोइराला, गंगाबहादुर कँुवर, नरबहादुर राना, चन्द्र विक, डम्वर ताम्राकार, ज्ञानबहादुर थापा, लक्ष्मी रजाली र कृष्णमाया थापा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्