गृहमन्त्रीलाई महिला प्रतिनिधिमण्डलको प्रश्नः महिला शरीर लिएर जन्मनु नै अपराध हो ?


काठमाडौ, १२ असोज । देशैभरि बालिका बलात्कार र हत्याको श्रृखंला डरलाग्दो गरि बढिरहेका बेला महिला प्रतिनिधिमण्डलले सरकारको ध्यानाकर्षण गराएका छन । नेकपाकी नेतृ तथा प्रदेश सांसद अष्टलक्ष्मी शाक्यको नेतृत्वमा गृहमन्त्री रामबहादुर थापा बादललाई भेटी बालिका बलात्कारपछि गरिएको निर्मम हत्याले समाजमा डरलाग्दो स्थिति सृजना गरेकाले बाँच्न पाउने अधिकार सुरक्षित गर्न माग गरेका छन् ।

नेकपा प्रदेश नम्बर ३ की इन्चार्जसमेत रहेकी शाक्य, नेकपा केन्द्रीय सदस्य दिलु पन्त लगायत नेकपाका महिला केन्द्रीय सदस्य, सांसदहरु सहितको महिला प्रतिनिधिमण्डलको टोलीले महिला तथा बालबालिकाको बाँच्न पाउने हक खोजिएको भन्दै गृहमन्त्रीको ध्यानाआर्षण गराएका हुन् । महिलाहरुले बोक्सीको आरोपमा अमानवीय पीडा सहनुपर्ने, प्रेम वा यौन प्रस्ताव अस्वीकार गर्दा एसिडबाट पोलिएर मर्नुपर्ने, छोरी भएकै कारण बलात्कारबाट पीडित बन्नु पर्ने, मारिनुपर्ने जस्ता विषयमा गृहमन्त्रीको ध्यानआर्षण गराइएको हो । ‘पहिचान भएका अपराधीहरले अपराध अनुसारको सजाय पाएका छैनन, ज्ञापनपत्रमा भनिएको छ, ‘निर्मला पन्त, सम्झना दास, श्रीया सुनारको हत्या जस्ता पछिल्ला घटनाले मानव सभ्यता, मानवीयता र लोकतन्त्रको अस्तित्वलाई नै गिज्याइरहेको छ । महिला शरीर लिएर जन्मनु अपराध जस्तै भएको छ ।’

पहिलोन्युजसँग कुरा गर्दै नेतृ शाक्यले यो मुलुकमा सरकारै नभएको जस्तो देखिएको बताइन । कन्चनपुरकी निर्मला पन्तको अझै हत्यारा पत्ता नलाग्नु यो देशमा सरकारै नभएको जस्तो देखिएको बताइन । उनले पोखराकी श्रेया सुनारको बलात्कारपछि निर्मम हत्या, र देशैभरि महिला तथा बालबालिकामाथि भइरहेको बलात्कार र हिंसाको घटनाबारे चुपचाप बस्ने हो भने हामी महिला तथा बालबालिका कोही पनि सुरक्षित नहुने उनको धारणा छ । उनले भनिन ‘कलिलै उमेरमा छोरी, नानीहरुको बाँच्न पाउने हक खोसियो, कलिलै उमेरमा निमोठियो, हाम्रो देशमा सरकारै नभएको जस्तो देखियो , यसरी चुपचाप बस्ने हो भने कोहीपनि छोरी चेली सुरक्षित हुन सक्दैनन । ‘

प्रतिक्रिया दिनुहोस्