गृहमन्त्री निधि किन तल्लो स्तरमै ओर्लिए ?


१६ फागुन । जतिबेला रौतहटको गौरमा एमालेको कार्यक्रम बिथोल्न उद्यत मधेसी मोर्चाका अराजक भीडलाई प्रहरीले तितरबितर पार्दै थिए, त्यति नै बेला मधेसकै अर्को सहर लहानमा भने तिनै प्रहरीका नेतृत्व सम्हालिरहेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि मधेसका जनतालाई एमाले विरुद्ध उचाल्दै थिए । गृहमन्त्री निधि लहानमा एमालेलाई मधेसबाट बढार्नुपर्ने गैरराजनीतिक भाषण गर्दै थिए ।

आखिर, पदीय मर्यादा र दायित्व भुलेर गृहमन्त्री निधि किन नेविसंघका कार्यकर्ताभन्दा पनि तल्लो स्तरमा झरेर एमालेप्रति आक्रमक देखिए ? पछिल्लो समय, तराई–मधेसमा एमालेप्रति आक्रमण बढ्दै छ । आगामी फागुन २१ देखि एमालेले तराई मधेसका २२ जिल्लामा मधेस जागरण अभियान सञ्चालन गर्न लागेपछि त तिल्मिलाउन पुगेको मधेसी मोर्चाले एमालेको हरेक कार्यक्रममा अवरोध पु¥याउने काम गर्दै आइरहेको छ । मधेसमा देखिएको अशान्ति र अराजकतालाई रोक्न गृहमन्त्रीले संयमता अपनाउन मधेसका जनतालाई अनुरोध गर्ने कि एमालेलाई बढार्नुपर्छ भन्दै उत्तेजना सिर्जना गर्ने ? गृहमन्त्री निधिको रवैयाले प्रश्नचिन्ह खडा गरेको छ ।

मधेसमा आफ्नो राजनीतिक आधार गुम्दै गएपछि मधेसी मोर्चाले एमालेलाई मधेस विरोधी प्रमाणित गर्न अनेक प्रयत्न गर्दै आएको छ । एमालेलाई मधेस विरोधी प्रमाणित गरेर मधेसमा गुम्दै गएको साख जोगाउनेतिर मधेसी मोर्चा लागिपरेको छ । अहिले निधिले पनि मोर्चासँगै लय मिलाएर एमालेलाई मधेस विरोधी देखाउने प्रयत्न गरिरहेका छन् । एमालेलाई मधेस विरोधी देखाएर स्थानीय तहको निर्वाचनमा मधेसी जनताको विश्वास जित्ने दाउमा काँग्रेस लागिपरेको देखिन्छ ।

त्यसो त, स्थानीय तहको निर्वाचनमा ५ नम्बर प्रदेशमा आफ्नो स्थिति नाजुक हुने देखेपछि काँग्रेसले २ नम्बर प्रदेशमा ध्यान केन्द्रित गर्ने देखिएको छ । संविधान संशोधन विधेयक ल्याएपछि ५ नम्बर प्रदेशमा काँग्रेस र माओवादी केन्द्रजस्ता सत्तारुढ दलहरुले तीव्र विरोधको सामना गर्नु परिरहेको छ । त्यसको असर स्थानीय तहको निर्वाचनमा पर्ने काँग्रेसले आँकलन गरेको बताइन्छ ।

तर, २ नम्बर प्रदेशमा भने आफ्नो स्थिति राम्रो रहेको ठान्दै काँग्रेसले स्थानीय तहको निर्वाचनमा सोही प्रदेशमा बढी ध्यान केन्द्रित गर्न लागिपरेको छ । तर, एमालेले केही दिनपछि नै मधेस जागरण अभियान सञ्चालन गर्ने र त्यस क्रममा आफ्ना कार्यकर्ताहरुलाई एमालेले भित्र्याउन सक्ने भएको हुँदा काँग्रेसले तराई छिरेर एमाले विरुद्ध उग्र भाषण दिने नीति अपनाएको बताइन्छ ।

शनिबार पनि गौरमा काँग्रेसका थुप्रै कार्यकर्ताहरु एमालेमा प्रवेश गरे । मधेसमा एमालेको पक्षमा बढ्दो लहर देखेपछि मधेसी मोर्चा त आत्तिएको थियो नै, अब काँग्रेसले पनि एमालेलाई मधेस विरोधी प्रमाणित नगर्ने हो भने मधेसमा आफ्नो स्थिति नाजुक बन्ने अड्कल गरेर गृहमन्त्री निधिजस्तालाई एमाले विरुद्ध उचाल्ने रणनीति अपनाएको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्