गैँडा तस्करीमा संलग्न ९० दोषी अझै फरार


चितवन, ३१ वैशाख । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा गैँडा तस्करीमा संलग्न भई दोषी प्रमाणित भएका ९० जना अझै फरार रहेका छन् ।
निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार पक्राउ गरी १५० जना विभिन्न कारागारमा कैदीका रुपमा छन् । फरार दोषीको खोजी भइरहेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो, निकुञ्ज विभागको वन्यजन्तु अपराध नियन्त्रण इकाइ, जिल्ला प्रहरी कार्यालय र तिनका मातहत कार्यालय, निकुञ्ज र निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाले पनि फरार अभियुक्तको खोजी गरिरहेको बताएको छ ।

स्वदेश र विदेशमा लुकीछिपी रहेका तस्करको खोजी जारी रहेको अर्यालले बताए । त्यस्ता व्यक्तिविरुद्ध इन्टरपोलमा रेडकर्नर नोटिस जारी गरी विदेशका विभिन्न मुलुकमा खोजी जारी राखिएको छ । यसै क्रममा २०७१ सालमा मलेसियामा रहेका राजकुमार प्रजालाई त्यहाँको प्रहरीले पक्राउ गरी पठाएको थियो । उनीविरुद्ध २० वटा गैँडा मारेको अभियोग लागेको छ ।
सन् १९९५ यता निकुञ्जमा तस्करले १७६ गैँडा मारेका थिए ।

प्रतिक्रिया दिनुहोस्