गैरआवासीय नेपाली संघले विज्ञ सम्मेलन गर्दै


काठमाडौ, २५ असोज । गैरआवासीय नेपाली दिवसको अवसरमा गैरआवासीय नेपाली संघ ९एनआरएनए० ले विज्ञ सम्मेलनका साथै विभिन्न कार्यक्रम सञ्चालन गर्ने भएको छ । हरेक दुईवर्षमा विदेशमा आयोजना हुने संघको क्षेत्रीय सम्मेलनको सट्टा गैरआवासीय नेपाली दिवसको अवसर पारेर नेपालमै विज्ञ सम्मेलन गर्ने संघको निर्णयअनुसार यही अक्टोवर १२ देखि १४ सम्म काठमाडौंमा विज्ञ सम्मेलन हुने भएको हो । सम्मेलनमा विश्वभर छरिएर रहेको ३ सयभन्दा बढी स्वदेशी तथा विदेशी विज्ञको सहभागिता रहने आयोजकले बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । सम्मेलनमा विभिन्न क्षेत्रका १६० वटा कार्यपत्र प्रस्तुत हुने र ८० जनाले उल्लिखित कार्यपत्रमाथि टिप्पणी गर्ने आयोजकले जनाएको छ । तीनदिने सम्मेलनमा विभिन्न विषयका १९ वटा सत्र सञ्चालन हुने बताइएको छ । नेपालीहरुले विदेशमा आर्जन गरेका विज्ञता, अनुभव र सीपलाई नेपालका सन्दर्भमा कसरी उपयोग गर्न सकिन्छ भनेर कार्यपत्र प्रस्तुत गर्नेछन् । नेपाल सरकारसंगको सहकार्यमा हुने सम्मेलन गैरआवासीय नेपाली अभियानको एउटा महत्वपूर्ण फड्को आयोजकको अपेक्षा छ । सम्मेलन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । साथै गत अधिवेशनले संघको विधानमा आवश्यक परिमार्जनका विषयमा छलफल गरेर संसोधनका लागि प्रस्ताव तयार गर्न विधानसभा गर्ने निर्णय गरेको यही अक्टोवर १२ मा विधानसभासमेत हुने भएको छ । विधान संसोधन गरी निर्वाचित कार्यसमितिको कार्यकाल तीन पुरयाउने संघको तयारी छ, त्यस्तै संघमा विभिन्न विषयगत गरी पाँचजना उपाध्यक्षको व्यवस्था गरिने भएको छ केही देशबाट सुरु भएको अभियानको करिब ८० देशमा संजाल विस्तार भइसकेको छ । संघले विगतमा सुरु गरेका ठूला परियोजना निर्माण सम्पन्न हुने क्रममा रहेको जनाएको छ । सोही क्रममा बिहीबार संघको आफनै भवनमा सचिवालय सार्ने र शंखमूलमा निर्मित पार्क ललितपुर महानगरपालिकालाई हस्तान्तरण गर्ने कार्यक्रमसमेत रहेको संघका अध्यक्ष भवन भट्टले जानकारी दिएका छन् । त्यस्तै ऐतिहासिक महत्वको सिन्धुलीगढीको पुननिर्माण योजना हस्तान्तरण, पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम, रक्तदान, सडक सुरक्षाका निम्ति अपनाउनुपर्ने निर्माण विधिको प्रदर्शन र सडक सुरक्षा शिक्षा प्रदानलगायत थुप्रै कार्यक्रम आयोजना हुने संघले जनाएको छ । संघले लाप्राक नमूना वस्ती आगामी वैशाखसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ ।

प्रतिक्रिया दिनुहोस्