ग्याँस मौज्दात पर्याप्त, सरकारले बढायो आयात


काठमाडौं, २६ फागुन । बजारमा एलपी ग्याँसको अभाव हुन नदिने गरी सरकारले आयात बढाएको छ । सरकारसँग पर्याप्त मौज्दात हुँदाहुँदै पनि ‘अभाव हुन सक्ने’ आशंका गर्दै उपभोक्ताले जगेडा राख्न थालेपछि कोटा थपिएको हो ।

नेपाल आयल निगमका अनुसार मार्चका लागि नियमित कोटाबमोजिम करिब ४५ हजार टन प्रडक्ट डेलिभरी अर्डर (पीडीओ) जारी गरिएकामा उपभोक्ताले बढी किन्न थालेपछि उद्योगीको मागअनुसार थप पाँच हजार टन प्रस्ताव गरिएको छ ।

जनवरीमा ३९ हजार १ सय २७ र फेब्रुअरीमा ४१ हजार टन ग्यास ल्याइएको थियो । ‘आपूर्तिमा कुनै समस्या छैन, आत्तिनु पर्दैन । मौज्दात गर्नु आवश्यक छैन,’ निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले भने ।

उपभोक्ताले घरमा रहेका खाली सिलिन्डरसमेत भरेर राख्न खोजेकाले मात्र केही डिपोमा लाइन देखिएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले बताए । उद्योगीसँग करिब १० हजार टन (७ लाख ४ हजार सिलिन्डर) मौज्दात रहेको एलपी ग्याँस उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले बताए । ‘५० हजार टन आयात भए समस्या हुँदैन,’ उनले भने । नेपालमा ५९ ग्यासका गरी १ करोड ५ लाख सिलिन्डर छन् । ती उद्योगले मासिक २८ देखि ३० लाख सिलिन्डर भर्दै आएका छन् ।

सबैभन्दा बढी नेपाल ग्याँसको सिलिन्डर बजारमा छ । अनुगमनमा पनि नेपाल ग्याँसकै लाइन बढी देखिएको छ । ‘समस्या नरहे पनि उपभोक्ता बेकारमा अत्तालिएका छन्,’ वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका सूचना अधिकारी दीपक पोखरेलले भने ।

एक उद्योगीले केही महिनाअघि बरौनीमा लोड कम हुनाले त्यसको असर उपत्यकामा देखिएको बताए । ‘अन्य जिल्लामा समस्या छैन,’ उनले भने । ग्यास बिक्रेता महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र थापाले ग्याँस अभाव नभएको दाबी गरे ।

बिदामा पनि आयात गरिँदै
आयल निगमले होलीको सार्वजनिक बिदामा पनि ग्याँस आयात गर्ने भएको छ । भारतमा दुई दिन बिदा भए पनि भारतीय आयल कर्पोरेसन्स (आईओसी) ग्याँस लोड गर्न सहमत भएको निगमका कार्यकारी निर्देशक पौडेलले जानकारी दिए ।

‘सामान्यतया होलीमा रिफाइनरी बन्द हुन्छ । तर आईओसीले सोमबार र मंगलबार पनि लोड गर्न दिने भएको छ,’ उनले भने, ‘दुई दिनमा १ सय बुलेटमा ग्यास लोड हुन्छ । त्यसलाई काठमाडौंमै केन्द्रित गर्छौं ।’

एउटा बुलेटमा १८ हजार किलो ग्याँस हुन्छ । एक सिलिन्डरमा १४.२ किलो ग्याँस अट्छ । यसअनुसार दुई दिनमै करिब १ लाख २५ हजार सिलिन्डर ग्यास लोड हुनेछ । आईओसीको बरौनी रिफाइनरीबाट ग्याँस लोड हुन्छ । कोरोना भाइरसको त्राससँगै उपभोक्ताले ग्याँस सञ्चित गर्न थालेका छन् । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया दिनुहोस्