घट्न थाले नेपाल घुम्न आउने भारतीय पर्यटकहरु


५ मंसिर । विगत वर्षहरुमा भए यतिबेला काठमाडौंका होटलहरु भारतीयलगायत अरु मुलुकका पर्यटकले भरिभराउ भइसक्थ्यो । मनोरम हिमशृंखलाहरु नियाल्न भारतलगायत अरु मुलुकका पर्यटकहरु नेपाल आउने क्रम अचाक्ली बढ्थ्यो । तर, अहिले होटलहरु र मुख्य पर्यटकीय स्थलहरुमा भारतीय पर्यटकहरु पातलो देखिन थालेको छ ।

यसको एक मात्र कारण बन्न पुगेको छ, भारतीय सरकारले ५ सय र एक हजार दरका भारतीय रुपियाँमाथि प्रतिबन्ध लगाउनु । भारुमाथिको प्रतिबन्धका कारण नेपालको पर्यटक क्षेत्रमा विस्तारै असर देखिन थालेको छ । खासगरी, भारतीय पर्यटकहरु आउने क्रम घट्न पुगेको छ ।
‘यो मौसम भारतीय पर्यटकहरु आउने मौसम हो’ होटल व्यवसायी तथा नेपाल पर्यटन बोर्डका सदस्य घनेन्द्र श्रेष्ठ भन्छन्, ‘तर, नेपाल घुम्न आउने भारतीय पर्यटकहरु पैसा साट्न बैंकमा लाइन बस्नुपर्ने तनावमा छन् अहिले । त्यही कारण स्वाभाविक रुपमा भारतीय पर्यटकहरुको आगमन पातलिएको छ ।’
भारतीय रुपियाँमाथि प्रतिबन्ध लागेपछि भारतका विभिन्न सहरहरुका बैंकमा यतिबेला पैसा साट्नेहरुको भीड लागेको छ नै, नेपालमा पनि भारतीय रुपियाँ साट्न सहज नभएको हुँदा पर्यटकहरु आउन चाहिरहेका छैनन् । केही दिनअघि नेपाल राष्ट्र बैंकले ५ सय र एक हजार दरका भारतीय रुपियाँहरु २५ हजारसम्म साट्ने घोषणा गरे पनि अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन । भारु सटहीलाई व्यवस्थित गर्न भने राष्ट्र बैंकले डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीको संयोजकत्वमा एउटा कार्यदल भने बनाएको छ ।
त्यसो त, गत वर्ष हवाई मार्गहुँदै १ लाख ५० हजार भारतीय पर्यटकहरु नेपाल घुम्न आएका थिए । यो संख्या नेपालको पर्यटन क्षेत्रमा १५ प्रतिशत हो । तर, नेपाली पर्यटन क्षेत्रमा भारतीय पर्यटकहरुको हिस्सा १५ प्रतिशत रहेको ठानिए पनि स्थलमार्गहुँदै लाखौं पर्यटकहरु आउने गरेका छन्, जसको खासै तथ्यांक राखिने गरेको छैन । सीमावर्ती सहरहरुमा आउने भारतीय पर्यटकहरुको पनि कुनै उल्लेख नहुने भएको हुँदा बर्सेनि लाखौं भारतीय पर्यटकले नेपालको धार्मिक, साँस्कृतिक र पर्यटकीय महत्वका क्षेत्रहरु घुम्ने गरेको पाइएको छ ।
तर, भारतीय पर्यटकहरु आउने मौसममा नै भारतीय रुपियाँमाथि प्रतिबन्ध लगाएपछि नेपाल घुम्न आउने पर्यटकहरुमा कमी आउने श्रेष्ठको भनाइ छ । उनी भन्छन्, ‘तर हामी अधिकतम रुपमा पर्यटकहरुलाई नेपाल भित्र्याउन प्रयत्न गर्नेछौं ।’
भारुमाथिको प्रतिबन्धको असर क्यासिनो व्यवसायमा पनि पर्न थालेको छ । नेपालका क्यासिनोहरुका मुख्य ग्राहक नै भारतीयहरु भएको हुँदा भारतमा ५ सय र एक हजारका नोटमाथि प्रतिबन्ध लागेपछि क्यासिनो व्यवसायले समस्या भोग्नु परेको छ । अहिले काठमाडौं, पोखरा र सीमावर्ती बजारका मिनी क्यासिनोहरुसमेत भारुमाथिको प्रतिबन्धका कारण ठप्प हुन पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्