घरमै सुत्केरी हुँदा मृत्यु


कालिकोट, ३१ असार । जिल्लाको तिलागुफा नगरपालिका वडा १० रुडुकी राइकोशा थापाको घरमै सुत्केरी हुँदा मृत्यु भएको छ ।

ढिलोगरी प्राप्त समाचार अनुसार थापाले मंगलबार राती १० बजे घरमै शिशु जन्माएकी थिइन् । सुत्केरी भएको दुई घण्टासम्म पनि रक्तश्राव हुन नरोकिएपछि उनको ज्यान गएको उनका श्रीमान कालीबहादुर थापाले बताए ।

‘डाक्टरहरुले घरमा सुत्केरी नगराउन सल्लाह दिएका थिए’ उनले पश्चाताप गर्दै भने, ‘घरबाट अस्पतालसम्म बोक्ने मान्छे नहुँदा घरमै सुत्केरी गराउनुपर्यो ।’

एक महिना अघि गर्भ जाँच गराउन आउदा राइकोशामा रक्तअल्पता भएको देखिएको र उनलाई अस्पतालमा मात्रै सुत्केरी गराउन सुझाव दिएको तिलागुफा नगरपालिका वडा नं। १० चिल्खाया स्वास्थ्य चौकीका ईन्चार्ज दुर्गाप्रसाद आचार्यले बताए ।

‘एक महिना अगाडी थापा स्वास्थ्य चौकीमा गर्भ चाँच गराउन आउनु भएको थियो । हामीले घरमा सुत्केरी नराउन सुझाव दिएको थियौं ।’ उनले भने, ‘तर, परिवारले हामीले दिएको सुझाव नमान्दा दुर्घटना भएछ । दुःख लाग्यो ।’

गत वर्ष तिलागुफा नगरपालिका वडा नं। ११ की हरिशोभा बि।क।को पनि रक्तअल्पताका कारण मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्