घाँस खुवाउन नपर्ने गाईबाट मासिक एक लाख आम्दानी


पोखरा, २३ वैशाख । घाँस, कुडो लगायत केही पनि खुवाउन नपर्ने र भकारो समेत सोर्न नपर्ने गाईबाट मासिक एक लाख आम्दानी हुने गरेको छ ।

पोखराको मुख्य पर्यटकीय क्षेत्र छोरेपाटनस्थित गुप्तेश्वर महादेव गुफाभित्रको कामधेनु गाईगोठमा रहेको यन्त्रजडित गाईबाट मासिक एक लाख आम्दानी हुँदै आएको छ । ऐतिहासिक, धार्मिक एवं पर्यटकीय महत्व बोकेको गुप्तेश्वर गुफामा राखिएको यान्त्रिक गाई गुफाको निरन्तर राम्रो आम्दानीको स्रोत बन्दै आएको हो ।

गुफा व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद पौडेलका अनुसार कामधेनु गाईगोठमा अवस्थित यन्त्र जडित गाईको नजिकै रहेको सानो प्वालमा गुच्चा राखेपछि चारवटै थुनबाट दूध आउने र सो दूध सिधैँ शिवलिङ्गमा चढाउने व्यवस्था गरिएका कारण गाई गुफाको थप आम्दानीको स्रोत बनेको हो ।

गुफाको प्रदेशद्वारमै रहेको कामधेनु गाई गोठमा रहेको प्वालमा गुच्चा राख्न चाहने प्रत्येक दर्शकले प्रति गुच्चा रु १० मा खरिद गर्ने व्यवस्था मिलाइएको पौडेलले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्