घुस माग्ने गाउँपालिका अध्यक्ष र वडाध्यक्षविरुद्ध मुद्दा


जाजरकोट, २३ फागुन । सडक निर्माणको काममा घुस माग्ने गाउँपालिका अध्यक्ष र वडाध्यक्षविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।

बिहीबार अख्तियारले जाजरकोट जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसी र वडा नम्बर ५ का वडाध्यक्ष राजबहादुर शाहीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । केसी र शाहीले मिलेमतो गरी सडक निर्माण कार्यमा कमिसनबापत घुसको बार्गेनिङ गरेका थिए ।

यस्तो बागेैनिङ गरी पटक–पटक नगद लिने, बैंक खातामा जम्मा गर्न लगाउने, होटेलमा बसेरखाएको तिर्ने र गाडी रिजर्भका लागि भाडा तिर्न लगाउने गर्दासमेतबाट उनीहरूले २५ लाख ५० हजार रुपैयाँ घुस लिएको अख्तियारको दाबी छ ।

अख्तियारले दुवैविरुद्ध घुस लिएको रकमबराबरको बिगो कायम गरेर विशेष अदालतमा मुद्दा दायर गरेको हो । कमिसनका लागि धाकधम्की दिई पटक–पटक नगद र बैंक खातामा रकम दाखिला गर्न लगाई घुस दिन बाध्य बनाएको भन्दै उजुरी परेपछि अख्तियारले उनीहरूविरुद्ध छानबिन गरेको थियो ।

गाउँपालिका अध्यक्ष केसीविरुद्ध अख्तियारले अर्को पनि मुद्दा दायर गरेको छ । केसी र जनता आधारभूत विद्यालयका प्रधानाध्यापक चन्द्रबहादुर बस्नेतविरुद्ध आठ लाख रुपैयाँ बिगो दाबी गर्दै अख्तियारले बिहीबार नै विशेष अदालतमा मुद्दा दायर गरेको हो । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया दिनुहोस्