चन्द्रागिरी केबुलकारको यात्रा अब १ सय ८ रुपैयाँमै


२ माघ ।  चन्द्रागिरी केबुलकारले माघ महिनाभरी भालेश्वर महादेवको दर्शन गर्ने दर्शनार्थीहरुलाई केबुलकार टिकटमामा भारी छुटको व्यवस्था गरेको छ ।

माघ महिनाको सोमबार भगवान शिवको दर्शन गर्ने दर्शनार्थीको सुविधालाई ध्यानमा राखेर चन्द्रागिरी हिल्स लिमिटेडद्वारा संचालित चन्द्रागिरी केबलकारको टिकट खरिदमा छुटको व्यवस्था ल्याएको जानकारी दिएको छ । ‘२०७३ साल माघमहिनाको प्रत्येक सोमबार पहिला टिकट खरिद गर्ने १०८ जनाले रु. १०८ मा नै टिकट प्राप्त गर्ने छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘यस व्यवस्थाअन्तर्गत एक जनाले एउटा मात्र टिकट लिन पाउनेछन् भने टिकट काठमाडौं थानकोटस्थित कम्पनीको टिकट काउन्टरबाट मात्र लिनु पर्ने छ ।’

खरिद गरिएका टिकट सोहि दिनका लागि मात्र मान्य हुने कम्पनीको भनाई छ । त्यो छुटको अवधिमा एक सय आठ टिकट लिनेहरुले अन्य छुट भने पाउने छैनन् ।  गत साउन २४ गतेबाट व्यवसायिक सञ्चालनमा आएको चन्द्रागिरी केबलकारमा अहिलेसम्म २ लाख ८९ हजार ४ सय १५ जनाले यात्रा गरेका छन् ।
चन्द्रागिरी हिल्स लिमिटेडले चन्द्रागिरी केबलकारको यात्रा गरेर भालेश्वर महादेवको दर्शन गर्न आउने दर्शानार्थी तथा घुम्न आउने पर्यटकहरुको लागि अशोक लेलेण्डको४२ सिट क्षमता भएको निशुल्क बस सेवाको व्यवस्था गरेको छ ।

बसहरु प्रत्येक दिन बिहान साढे सातमा काठमाडौंका महाराजगञ्ज र कोटेश्वरस्थित भाटभटेनी सुपर मार्केटबाट छुट्ने छन् ।  महाराजगञ्ज भाटभटेनीबाट छुट्ने बस नयाँँबसपार्क,बालाजु भाटभटेनी, स्वयम्भू, कलङ्कीहुँदै चन्द्रागिरी केबलकारसम्म पुग्ने छ । कोटेश्वर भाटभटेनीबाट छुट्ने बस बालकुमारी, ग्वार्को, सातदोबाटो, एकान्तकुना,बल्खु,कलङ्कीहुँदै चन्द्रागिरीसम्म पुग्ने छ ।

प्रतिक्रिया दिनुहोस्