चाडबाडमा मिठाई किन्दै हुनुहुन्छ होसियार बन्नुहोस, कपडामा प्रयोग हुने केमिकल मिठाईमा


काठमाडौं, १८ असोज । कपडामा प्रयोग हुने केमिकल मिठाइमा प्रयोग गरी उपभोक्ताको स्वास्थमाथि गंम्भीर खेलवाड गरेको तथ्य फेलापरेको छ । नयाँ वानेश्वरस्थित संगम स्वीट्सले कपडा चम्काउन प्रयोग हुने केमिकल, गुणस्तरहीन तेल र म्याद गुजिएको कोकोनट पाउडर प्रयोग गरी मिठाइ बनाउने गरेको तथ्य फेला परेको हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मंगलबार काठमाडौंको मिलनचोकस्थित संगम स्वीट्सको गोदाम र नयाँ वानेश्वरस्थित बिक्री केन्द्रमा अनुगमन गरेको थियो । विभागका खाद्य अनुसन्धान अधिकृत इश्वर सुवेदीको नेतृत्वमा उपभोक्ता अधिकारकर्मी र जिल्ला प्रशासन कार्यालय काठमााडौंका प्रतिनिधिसहितको टोलीले अनुगमनपछि उत्पादनस्थलमा सिलवन्दी गरेको छ भने बिक्री केन्द्रबाट पनि मिठाइको बिक्री वितरणमा रोक लगाएको छ । अखाद्य वस्तु बिक्री गरेको र उपभोक्ताको न्यूनतम मापदण्ड पूरा नगरेको पाइएपछि उत्पादनस्थलमा सिलवन्दी गरिएको र तयारी मिठाइसमेत बिक्रीमा रोक लगाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले हिमालय टाइम्सलाई बताए । अनुगमनमा सलग्न उपभोक्ता अधिकार अनुसान्धन मञ्चका अध्यक्ष माधव प्रसाद तिमल्सिनका अनुसार मिठाइमा कपडा चम्काउन प्रयोग हुने प्रतिवन्धित हाइड्रो ए वान भन्ने केमिकल प्रयोग गरेको पाइएको छ । उक्त केमिकल स्वास्थ्यका लागि हानिकारक हुने विभागका प्रवक्ता वस्तीले बताए । त्यस्तै मिठाइहरु पनि पटक पटक प्रयोग गरिएको तेलमा पकाउने गरिएको उनले बताए । उनका अनुसार एकपटक प्रयोग भइसकेको तेल तथा घिउको पुनप्रयोग गर्नुहुँदैन, जति धेरैपटक प्रयोग गरयो, त्यत्तिनै मात्रामा तेल तथा घिउमा हानिकारक तत्व उत्पादन हुँदै जान्छ, जसलाई पोलारिटी भनिन्छ । तेल तथा घिउमा यस्तो पोलारिटीको मात्रा अधिकतम २५ सम्म हुनुपर्नेमा ३८.५ सम्म पाइएको छ ।
त्यस्तै मिठाइमै ८ वर्ष पुरानो कोकोनट पाउडरसमेत प्रयोग भएको भेटिएको छ । उक्त पाउडर उत्पादित मितिले ४ महिनासम्म प्रयोग गर्न उपयुक्त हुने भएपनि सन २०११ मा उत्पादित पाउडर हालसम्म पनि प्रयोग गर्दै आएकोले अनुगमन टोलीले नष्ट गरेको तिमल्सिनाले जानकारी दिए । मैदालगायत अन्य खाद्य बस्तुमा उत्पादित मिति नभएको, सरसफाईमा ध्यान नदिएको पनि तिमल्सिनाले बताए । झापाका संगम शर्माले सञ्चालन गरेको संगम स्वीट्सलाई खाद्य प्रविधि ऐनअनुसार कार्वाही हुने र मुद्धासमेत चलाउन सकिने विभागले जनाएको छ । उनलाई तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्