चार दिनका लागि संसद् स्थगित


७ पुस । चार हप्ताअघि सत्तारुढ दलहरुले संविधान संशोधन विधेयक ल्याएपछि अवरुद्ध रहँदै आएको व्यवस्थापिका–संसद्को बैठक चार दिनका लागि स्थगित गरिएको छ । आज बिहीबार सूचना टाँस गरेर संसद् बैठक चार दिनका लागि स्थगित गरिएको हो ।

संशोधन विधेयकलाई अस्वीकार गर्दै आएका नेकपा एमालेसहित आठ राजनीतिक दलले सो विधेयक सरकारले फिर्ता लिनुपर्ने माग राखी संसद् बैठक अवरुद्ध तुल्याउँदै आइरहेको छ । तर, सत्तारुढ दलहरुले भने एमालेलगायतका दलहरुलाई संसद् अवरुद्ध भएका कारण सबै प्रक्रियाहरु अवरुद्ध भएकाले संसद् खुलाउन आग्रह गर्दै आइरहेका छन् ।

केही दिनअघि सभामुख ओनसरी घर्तीले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुलाई बोलाएर संसद् खुलाउन पहल गरेकी थिइन् । तर, सत्तारुढ र विपक्षी दलहरुको आआफ्नै अडान रहेपछि कुनै टुंगोमा पुग्न सकेको थिएन । सभामुख घर्तीले दलहरुलाई सहमतिमा पुग्न बिहीबारसम्मको समय दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्