चिटिक्क परेर बसेको फोटो छाप्नुहुन्न, साँझतिर थाकेर हाइ काढेको छापिदिनुहुन्छ


२४ असार । नरम र भद्र शैलीमा आफ्ना अभिव्यक्ति राख्नमा परिचित पूर्वसभामुख सुवास नेम्वाङ त्यसैभित्र मिसाएर चोटिलो व्यंग्य गर्न पनि माहिर छन् । शनिवार राजधानीमा संसद्को अर्थ समिति र संसदीय मामिला पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा उनले दुबैथरीलाई मिलाएर व्यंग्य गर्न बाँकी राखेनन् ।

थापाथलीस्थित टेड टावरको दोस्रो तलामा आयोजित ‘संसदीय काम–कारबाहीमा वैयक्तिक हितको टकराव व्यवस्थापन’ कार्यक्रममा प्रमुख अतिथिका रुपमा उपस्थित भए नेम्वाङले संसद्मा प्रतिनिधित्व गर्ने मुख्य दलका प्रमुख सचेतक, सचेतक, संसदीय समितिका सभापति, सांसद र पत्रकारहरुको उपस्थितिमा उनीहरुका कुरा सुनेर दुई घन्टा बिताए । अन्तिममा १७ मिनेट बोलेका उनले कानुन निर्माण गर्दा संसद् कार्यसञ्चालन नियमावलीले तोकेको आचारसंहिताको पालना गर्न सांसदलाई सल्लाह मात्र दिएनन् पत्रकारलाई पनि सुझाव दिन भ्याए । ‘दिनभरि चिटिक्क परेर मेरो तस्वीर खिचिदिए हुन्थ्यो भन्दै बसेका सासंदहरुको एउटा पनि फोटो छाप्नुहुन्न’, उनले भने, ‘अनि बस्दा–बस्दा दिक्क लागेर एक पटक हाइ काढेको फोटो छापिदिनुहुन्छ ।’

13532813_10208519452055705_8182716181429296265_n

नेपालको संसदीय इतिहासमा सबभन्दा बढी नौ वर्ष संसद्को प्रमुख बनेका नेम्वाङले पत्रकारहरुले छाप्ने गरेका समाचारप्रति असन्तुष्टी पनि व्यक्त गरे । उनले भने, ‘पत्रकार साथीहरुले मलाई बेला–बेलामा भन्ने गरेको कुरा याद छ– काठमाडौंबाट छुटेका सबै गाडी चितवन पुगे भने त्यो समाचार बन्दैन, एउटा गाडी त्रिशुलीमा फुत्त हाम्फाल्यो भने त्यो समाचार बन्छ ।’

छेउमै बसेका संसदीय मामिला पत्रकार समाजका अध्यक्ष राजेन्द्र फुयाल र पल्लो छेउमा बसेका पत्रकार नरेन्द्र साउदतिर हेर्दै नेम्वाङले यस्तो कथा सुनाएपछि हलमा केही बेर हाँसो गुञ्जिएको थियो ।

विभिन्न प्रकारले संसद्भित्र पुगेका सांसदहरुले आफ्नो व्यक्तिगत र सामुदायिक स्वार्थमा चलखेल बढाएपछि उठेका प्रश्नहरुलाई लिएर आयोजित उक्त कार्यक्रममा प्रमुख सचेतक, सचेतक, सांसद र पत्रकारलाई आफ्नो धारणा राख्न तीन मिनेटको समय दिइएको थियो ।

कार्यक्रमको सभापतित्व गरेका अर्थ समितिका सभापति प्रकाश ज्वालाले संघीय समाजवादी फोरमका प्रमुख सचेतक शिवजी यादव र कांग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले बोल्दा समय सकिएको संकेत मात्र के गरेका थिए, उल्टै खप्की खानुपरेको थियो । त्यसपछि समाजका अध्यक्ष फुयालले सचेत गराइरहँदा पनि तीन मिनेट समय पाएका आनन्दप्रसाद ढुंगानाले १५ मिनेट बोले ।

सांसदहरुले गरे मुखामुख

पूर्वसभामुख नेम्वाङले पटक–पटक कानुन निर्माण गर्दा संसद् कार्यसञ्चालन नियमावलीले तोकेको आचारसंहिताको पालना गर्न सांसदलाई सल्लाह दिँदा केही सांसदहरुले मुखामुख गरिरहेका थिए । ‘आजको छलफलले हामी सबैको ध्यानाकर्षण गराएको छ,’ उनले मन्तव्यको बीचतिर भने, ‘यो छलफलबाट सांसद्ज्युहरुले पत्रकार साथीहरुको र पत्रकार साथीहरुले सासंद्ज्युहरुको ध्यानाकर्षण गराउनुभएको छ ।’ उनले सबैका कमीमजोरी रहने भन्दै आचारसंहिताको पालना सबैले गर्ने हो भने समस्या कतै नहुने जिकीर गरे । उनले कतिपय सन्दर्भमा पत्रकारको ध्यान नपुगेको भन्दै पत्रकारलाई पनि सचेत हुन आग्रह गरे । कार्यक्रममा उनले सासंदले लबिङ गर्न पाउने विश्वव्यापी नियम नै भएको भन्दै व्यक्तिगत स्वार्थलाई छाडेर सामूहिक सार्थमा केन्द्रित भएर काम गर्न आग्रह गरे ।

नैतिकता र आचारसंहितामा जोड

कार्यक्रमामा नेपाली कांग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले राजनीति गर्ने व्यक्तिको सबैभन्दा ठूलो सम्पत्ति भनेको नैतिकता भएकाले आचारसंहिताको पालनाको प्रश्न पनि व्यक्ति विशेषको नैतिकतासँग जोडिएर आउने भएको बताए ।

नेकपा (एमाले) का प्रमुख सचेतक भानुभक्त ढकालले कानुन निर्माणमा पालना गर्नुपर्ने आचारसंहिता र होसियारीका बारेमा अनुभवीले नयाँ जनप्रतिनिधिलाई सिकाउने अभ्यास अत्यन्त कमजोर रहेको अनुभव सुनाए ।

नेकपा (माओवादी केन्द्र) का सचेतक सीता नेपालीले कानुन निर्माणमा समुदायभन्दा परिवार र व्यक्तिगत हितलाई नहेर्न सुझाव दिइन् ।

कार्यक्रममा प्रा. कृष्ण खनाल र पत्रकार अर्जुन भण्डारीले ‘संसदीय काम कारबाहीमा वैयक्तिक हितको टकराव व्यवस्थापन’ विषयको कार्यपत्र पेस गरेका थिए । त्यसमाथि केन्द्रित रहेर सङ्घीय समाजवादी फोरम नेपालका प्रमुख सचेतक शिवजी यादव, नेकपा (माले) का प्रमुख सचेतक अइन्द्रसुन्दर नेम्वाङ, नेपाली काग्रेसकी सचेत ईश्वरी न्यौपाने र नेता आनन्दप्रसाद ढुङगाना, एमालेका सचेतक गोकुल घर्ती, सांसदहरु रामहरि खतिडा, रामहरि सुवेदी, रामनारायण विडारीलगायतले बोलेका थिए ।

अर्थ समितिका सभापति प्रकाश ज्वालाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा संसदीय पत्रकार समाजका अध्यक्ष राजेन्द्र फुयाल, संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमका प्रतिनिधि कल्पना सरकारले शिक्षा ऐन तथा बैँक तथा वित्तीय संस्थासम्बन्धी ऐन बनाउँदा पर्याप्त रुपमा छलफल नहुनु तथा वैयक्तिक हितको स्वार्थ देखिनुले ऐन बन्दा नबन्दै निकै आलोचना खेप्नुपरेको धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्