चितवन पुगेर देउवाले भने, ‘अब चुनाव कसैले टारेर टर्दैन, जसरी भए पनि जित्नुपर्छ’


३० मंसिर । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गाउँ विकास समितिलाई गाउँपालिका बनाएर अहिलेकै संरचनामा निर्वाचन गर्न तीन दलबीच सहमति भएको बताएका छन् । नेपाली काँग्रेस चितवनको सङ्गठन सुदृढिकरण एवम् जागरण अभियान २०७३ को बिहीबार चितवनमा उद्घाटन गर्दै सभापति देउवाले एमालेका अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल र आफूबीच गाउँपालिकाको निर्वाचन गर्न सहमति भएको बताएका हुन् ।

सभापति देउवाले संविधान कार्यान्वयन गराउन तीन तहको निर्वाचन हुनैपर्ने भएकाले यस विषयमा तीन दल एकमत भएको बताए । मुलुक अब चुनावको दिशामा गइसकेको भन्दै देउवाले १४ महिनाभित्रमा तीन तहको निर्वाचन नभए देशमा संवैधानिक सङ्कट आउने उल्लेख गरे । देउवाले भने ‘अब यसलाई कसैले टारेर टर्दैन ।’ स्थानीय, प्रान्तीय र सङ्घीय निर्वाचन सकेर राष्ट्रिय सभा र राष्ट्रपतिको निर्वाचन हुने पनि उनले बताए ।

एमाले अध्यक्ष ओली र काँग्रेसका तत्कालीन पार्टी सभापति सुशील कोइरालाले हस्ताक्षर गरेअनुरुप नै सीमाङ्कन हेरफेर गरेर संशोधन प्रस्ताव पेस गरिएको देउवाले स्पष्ट पारे । एक अर्को प्रसंगमा देउवाले भने,‘काँग्रेस र माओवादी संशोधन प्रस्ताव कुनै पनि हालतमा फिर्ता लिने पक्षमा छैनन् ।’

अब पार्टीभित्र गुट उपगुटभन्दा पनि मूल्याङ्कनको आधारमा पार्टीका सारथीलाई अगाडि बढाउने बताउँदै देउवाले भने, ‘गाउँ तहसम्म जो सक्रिय छ, त्यसैलाई अगाडि बढाउनुहोस् । चुनाव जसरी पनि जित्नुपर्छ ।’

कार्यक्रममा महामन्त्री डा. शशाङ्क कोइरालाले देशको विगतलाई हेर्दा जुन बेला राजनीतिक स्थिरता आयो, त्यतिबेला मात्रै विकास भएको बताए । कोइरालाले भने, ‘बिपीको १८ महिने सरकार र गिरिजाप्रसाद कोइरालाको नेतृत्वकालमा जे–जति नीति निर्माण र विकास भए अहिलेसम्म हुन सकेको छैन ।’ बिपी कोइरालाले नेपाललाई चिन्ने हो भने गाउँलाई हेर्नुपर्छ भनेको प्रशङ्ग कोट्याउँदै उनले गाउँबाट सङ्गठन सुदृढ बनाउन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्