चित्रबहादुर भन्छन्– ‘महन्थहरुले नेपालको एक भाग भारतसँग मिलाउन चाहे सर्वोच्चले के आदेश दिन्छ ?’


१९ पुस । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सोमबार सर्वोच्च अदालतले व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधन विधेयक हाल रोक्नु नपर्ने गरी गरेको आदेशको कटु आलोचना गरेका छन् । ‘सर्वोच्चले असंवैधानिक प्रस्तावलाई संसद्ले छिनोफानो गर्ने भनेर गलत आदेश जारी गरेको छ,’ पहिलो न्युजसँग केसीले भने, ‘संसद्ले छिनोफानो गर्ने भए उहिल्यै गरिहाल्थ्यो नि ?’

केसीले संशोधन प्रस्तावको नियत नै गलत भएकाले आफूसहितका विपक्षी नौ दलले प्रस्तावलाई टेबुल नै हुन नदिएको स्मरण गराए । ‘संशोधन प्रस्तावका पक्षमा दुइतिहाई मत पुग्छ भनेर हामीले डराएर भोटिङ हुन नदिएका होइनौं,’ केसीले भने, ‘छिमेकीको इसारामा आएको प्रस्ताव भएकाले हामीले त्यस्तो राष्ट्रघाती संशोधन प्रस्तावलाई टेबुल हुन नदिएका हौं ।’

उनले सर्वोच्चले पनि संशोधन प्रस्तावको नियत के हो, विषय के हो भन्ने विचारै नपु¥याई आदेश दिएको आरोप पनि लगाए । ‘भोलि महन्थ ठाकुरहरुले नेपालको केही भूभाग भारतसँग मेल गराउनुपर्छ भनेर संशोधन प्रस्ताव ल्याए भने सर्वोच्चले यो संसद्को विषय हो भनेर पन्छिन मिल्छ,’ केसीले भने,  ‘प्रदेश नम्बर पाँचको सीमांकन हेरफेर गर्ने विषय त्यहाँका जनता र मधेसी मोर्चाको पनि माग होइन । छिमेकीको इसारामा आएको प्रस्तावलाई सर्वोच्चले हल्का ढंगले लियो ।’

उनले सबै निर्णय सर्वोच्चले राष्ट्र र जनताका हितमा गर्छ भन्ने भ्रममा आफूहरु नपरेको भन्दै नियत नै गलत भएको प्रस्तावका बारेमा सर्वोच्चले दिएको आदेश चित्तबुझ्दो नभएको बताए  ।

प्रतिक्रिया दिनुहोस्