चिसोमा इन्फ्लुएन्जाको खतरा, डेढ लाख बालबालिकालाई निमोनिया


 

काठमाडौँ, १३ पुस ।  गत बिहीबार पूर्वसचिव शान्तबहादुर श्रेष्ठको आकस्मिक निधन भयो । भाइरस र ब्याक्टेरिया संक्रमण शरीरमा फैलिएर निमोनिया हुँदा उनको निधन भयो । ज्वरो आएपछि श्रेष्ठलाई शिक्षण अस्पताल महाराजगन्ज भर्ना गरिएको थियो । चिसोकै कारण उनको शरीरभर निमोनियाले गम्भीर असर पुर्‍याइसकेको थियो ।

केही दिनयता राजधानी काठमाडौंसहित देशैभर चिसो बढेको छ । चिसोकै कारण रुघाखोकी र निमोनियाका बिरामी बढ्नुका साथै दीर्घरोगीहरूमा गम्भीर समस्या देखिन थालेको छ । ‘फ्लु’ (इन्फ्लुएन्जा) ले श्वासप्रश्वास प्रणालीमा गम्भीर असर गर्छ ।

चिकित्सकका अनुसार जाडोयाम र मौसम परिवर्तनको अघिपछि मौसमी रुघाखोकीसहित ज्वरो (सिजनल इन्फ्लुएन्जा) का बिरामी बढ्छन् । रुघाखोकीले वृद्धवृद्धा, बालबालिका, दीर्घरोगी, अंग प्रत्यारोपण गराएका, गर्भवतीलगायत रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरू जोखिममा पर्छन् । सरुवारोग अस्पताल टेकुमा कार्यरत डा. शेरबहादुर पुन भन्छन्, ‘मौसमी इन्फ्लुएन्जा सामान्य रुघाखोकीको रूपमा देखा पर्छ । तर, केहीमा जटिलता देखापरी बिरामीको मृत्युसमेत हुने गर्छ ।’

उनका अनुसार इन्फ्लुएन्जाविरुद्धको खोप हरेक वर्ष रोग प्रतिरोधात्मक क्षमता कम भएका ६ महिनाभन्दा बढी उमेर समूहका जो कसैले पनि चिकित्सकको सल्लाहअनुसार लिन सक्छन् । तर, विशेष गरी ६० वर्ष उमेर पूरा भएकाले अनिवार्य रूपमा लिए राम्रो मानिन्छ । यसलाई सरकारले नियमित खोपको सूचीमा राखेको छैन । उनका अनुसार यो खोपले रुघाखोकीका कारण ज्येष्ठ नागरिकलाई मृत्युको मुखबाट जोगाउन र संक्रमण फैलन नदिन महत्वपूर्ण काम गर्छ । इन्फ्लुएन्जाविरुद्धको खोप एक हजार देखि १३ सय रुपैयाँमा लगाइन्छ ।

चार प्रकारका इन्फ्लुएन्जा
इन्फ्लुएन्जा ए, बी, सी र डी गरी चार प्रकारका हुन्छन् । इन्फ्लुएन्जा डी जनावरमा मात्रै पाइन्छ । इन्फ्लुएन्जा सीलाई सामान्य रूपमा लिइन्छ । तर, ए र बी ले कडा खालको रुघाखोकी, ज्वरो निम्त्याउँछ । डा. पुनका अनुसार ए को छुट्टै दुई प्रजाति हुन्छ । पहिलो एचवानएनवान पिडिएम ०९, यसलाई सर्वसाधारणले चिन्ने भाषामा स्वाइनफ्लु भन्ने गरिन्छ । अर्को एचथ्रीएनटूलाई हङकङ फ्लुले चिनिन्छ । बीको पनि भिक्टोरिया र यामागाता भन्ने दुई प्रकारका जिन हुन्छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार पाँच वर्षमुनिका ३० लाख बालबालिकामध्ये १७ लाखलाई रुघाखोकी हुने गरेको छ । जसमध्ये एक लाख ५५ हजारलाई रुघाखोकीसँगै निमोनिया हुने तथ्यांकमा उल्लेख छ । कुल बिरामीमध्ये चार हजार पाँच सयमा गम्भीर समस्या देखिई अस्पताल नै भर्ना गर्नुपरेको छ ।

सरुवा रोग विशेषज्ञ डा. अनुप बाँस्तोलाका अनुसार पछिल्लो समय नेपाल इन्फ्लुएन्जाको उच्च जोखिममा छ । ‘नेपालमा तत्काल इबोलाको जोखिम छैन, तर इन्फ्लुएन्जाको उच्च जोखिम छ,’ उनले भने, ‘हामीले थाहा पाउँदासम्म आधा जनसंख्या नाश हुने गरी इन्फ्लुएन्जा फैलिसकेको हुन सक्छ । बर्डफ्लु र स्वाइनफ्लु एक आपसमा मिल्न सक्छन्, यस्तो भएमा महामारी फैलन सक्छ । यी दुई भाइरसले झुक्याइरहेका छन्, आपसमा मिलेर नयाँ रूप लिएर आउन सक्ने सम्भावना प्रवल छ ।’

कसरी सर्छ इन्फ्लुएन्जा
इन्फ्लुएन्जा भाइरस मानव शरीरमा नाक, मुख र आँखाबाट प्रवेश गर्छ । यो भाइरस खोक्दा, हाच्छिउँ गर्दा वा निकट सम्पर्कका कारण एक व्यक्तिबाट अर्कोमा फैलिन्छ । कलेजो, मुटु, मिर्गौला, फोक्सोजस्ता दीर्घरोगी, क्यान्सरको उपचार गराइरहेका बिरामीले इन्फ्लुएन्जाको खोप लिनु उत्तम हुने डा. पुन बताउँछन् । ‘रुघाखोकीले सबैलाई दुःख दिन्छ,’ पुन भन्छन्, ‘ज्येष्ठ नागरिकलाई यो मौसममा सामान्य रुघाखोकी, घाँटी दुख्ने, ज्वरो आउने समस्याले नै इन्फ्लुएन्जा बल्झिन सक्छ । जसले जटिल खालको निमोनियासमेत हुन सक्छ ।’ विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार मौसमी रुघाखोकी रोकथामका लागि सबैभन्दा प्रभावकारी तरिका खोप लगाउनु नै हो । अहिले फ्लुविरुद्धका सुरक्षित र प्रभावकारी खोप सहजै उपलब्ध छन् । ज्येष्ठ नागरिकमा इन्फ्लुएन्जाविरुद्धको खोप बिरामी हुनबाट जोगाउन कम प्रभावकारी देखिए पनि यसले रोगको जटिलतामा कमी ल्याएर मृत्युदर घटाउँछ ।

यसरी बच्न सकिन्छ 

  • रुघाखोकी र निमोनियाबाट केही दिनमा रुघाखोकी ठीक नभए चिकित्सकलाई देखाइहाल्ने
  •  फ्लुको संक्रमण भएको व्यक्तिलाई तुरुन्त निमोनिया हुन सक्छ, सचेत हुने
  •  संक्रमित व्यक्तिलाई भेट्दा वा सम्पर्कमा आउँदा विशेष सावधानी अपनाउने
  •  आफूलाई रुघाखोकी वा फ्लु भएको छ भने यो निमोनियाको कारणले पनि हुन सक्छ,
  •  यस्तो अवस्थामा खोक्दा वा हाच्छिउँ गर्दा रुमाल वा टिस्यु पेपर प्रयोग गर्ने
  •  संक्रमित व्यक्ति भर्ना गरिएको वार्डमा जाँदा सुरक्षित हुने
  •  चिसो, धुवाँधुलो र प्रदूषणबाट बच्ने, चिसोमा बालबालिका र वृद्धवृद्धाको विशेष ख्याल गर्ने
  •  धूमपान नगर्ने, खाना पकाउँदा धुवाँ बाहिर जाने सुधारिएको चुल्हो प्रयोग गर्ने
  •  निमोनियाबाट बच्न खोप (न्युमोकोकल कन्जुगेट भ्याक्सिन) को प्रयोग गर्ने
  •  ६० वर्षभन्दा बढी उमेरका वृद्धवृद्धालाई निमोनियाको खोप दिने

 

प्रतिक्रिया दिनुहोस्