चुनाव चिन्ह सूर्य र हँसिया हथौडा अंकित झण्डा रहने गरी नेकपा दर्ता


काठमाडौ, २४ जेठ । चुनाव चिन्ह सूर्य र हँसिया हथौडा अंकित झण्डा रहने गरी नेकपाको दल दर्ता भएको छ । पुर्व निर्धारित कार्यक्रम अनुसार विहिवार निर्वाचन आयोगमा औपचारिक रुपमा दल दर्ता भएको हो । तत्कालिन एमाले र माओवादी केन्द्रले प्रयोग गरेका नाम, चुनाव चिह्न र झन्डा अरू पार्टीले राख्न नपाउने निर्वाचन आयोगले जनाएको छ ।
नेकपालाई दल दर्ताको प्रमाणपत्र प्रदान गर्दै आयोगका सचिव बेगेन्द्रराज पौडेलले बिहीबार विज्ञप्ति जारी गर्दै राजनीतिक दल सम्बन्धी ऐनको दफा १० बमोजिम एमाले र माओवादीको नाम तथा चिन्ह अरुले प्रयोग गर्न नपाउने बताएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचन आयोगमा दल दर्ता नम्बर ३२ मा रहेको एमाले र दर्ता नम्बर ३७ मा रहेको माओवादी केन्द्रले यसअघि प्रयोग गरेको नाम, झण्डा र चिन्ह राजनीतिक दल सम्बन्धी ऐनको दफा १० को उपदफा ७ बमोजिम कुनै दलले प्रयोग गर्न नपाउने व्यवथा गरिएको छ ।’ दल दर्ताको प्रमाणपत्र बुझ्न नेकपाका महासचिव विष्णु पौडेल, संसदीय दलका नेता सुवास नेम्वाङ, प्रमुख सचेतक देव गुरुङसहितका नेता कार्यकर्ता निर्वाचन आयोगमा पुगेका थिए ।
नेपाल कम्युनिस्ट पार्टी नेकपाको दर्ता नम्बर १६५ रहेको जानकारी आयोगले दिएको छ ।

प्रतिक्रिया दिनुहोस्