चुरेभावरले फेरि माग्यो बेग्लै प्रदेश


२६ भदौ । संविधान संशोधनको कुरा उठिरहेको बेला तराई–मधेसका राजनीतिक दलहरुसित असहमति जाहेर गर्दै आएको चुरेभावर राष्ट्रिय एकता पार्टी नेपालले चुरे क्षेत्रलाई समेटेर अलग प्रदेश बनाउन माग गरेको छ ।

सो पार्टीका अध्यक्ष बद्रीप्रसाद न्यौपानेले विगतमा सरकारले चुरेभावरसँग गरेको ९ बुँदे सम्झौतामा छुट्टै प्रदेश दिने सहमति भएको उल्लेख गर्दै चुरे क्षेत्रलाई छुट्टै प्रदेश बनाउन माग गरेका हुन् । आज राजधानीमा एक पत्रकार सम्मेलन गरी अध्यक्ष न्यौपानेले मधेसी मोर्चासँग भएको तीन बुँदे सम्झौता राष्ट्रियता, सार्वभौमसत्ता, स्वाधीनता, राष्ट्रिय अखण्डता र देशको हित विपरीत भएको पनि बताए । तराईमा दुई प्रदेश बनाए आफूहरुलाई मान्य नहुने पनि उनले बताए ।

सो पार्टीले तराई आन्दोलनका क्रममा गम्भीर तथा जघन्य अपराधमा मुछिएका व्यक्तिहरुलाई धेरैभन्दा धेरै कारबाही गर्न सरकार अग्रसर हुनुपर्ने पनि बताएका थिए ।

पूर्वमन्त्रीसमेत रहेका अध्यक्ष न्यौपानेले प्रधानमन्त्रीको भारत भ्रमणमा फास्टट्रयाक र नौमुरे जलविद्युत्जस्ता सन्धि सम्झौता नगर्न आग्रह गरेका थिए । त्यसमा सम्झौता भए त्यो राष्ट्रघाती हुने पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्