चुरे भावर एमालेमा गाभियो


२३ असोज । मधेस आन्दोलनको उभारको बेला जन्मिएको चुरे भावर राष्ट्रिय एकता पार्टी अब नेकपा (एमाले) मा गाभिने भएको छ । राष्ट्रिय राजनीतिमा एमालेले लिएको अडानबाट प्रभावित भएर आफ्नो दल एमालेमा समाहित हुने टुंगोमा पुगेको सो पार्टीले जनाएको छ ।

२ नम्बर प्रदेशको सर्लाही जिल्लामा मुख्य आधार रहेको चुरे भावर पार्टी एमालेमा गाभिने सहमति आइतबार मात्रै भएको छ । एमाले सचिव पृथ्वी सुब्बा गुरुङ र सो पार्टीका अध्यक्ष बद्रीप्रसाद न्यौपानेबीच एमालेमा गाभिने विषयमा सहमति भएको हो । न्यौपाने पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको सरकारको पालामा महिला, बालबालिका तथा समाजकल्याण मन्त्री थिए ।

मधेस आन्दोलनका बेला मधेसी समुदायले तराईमा रहेका पहाडी मुलका बासिन्दाहरुमाथि ज्यादति गर्न थालेपछि त्यसको प्रतिकारमा जन्मिएको चुरे भावरले २०६४ र ०७० को संविधानसभाको निर्वाचनमा भाग लिएको थियो ।

यसअघि, एमालेमा समाहित नभए पनि अरु केही दलहरुले भने आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा एमालेको चुनाव चिन्ह सूर्य लिएर लड्ने टुंगो गरेका थिए । त्यसमा राजपाबाट अलग्गिएको हृदयेश त्रिपाठीको समूहले सूर्य चिन्ह लिएर चुनावमा उठ्ने सहमति गरेको छ ।

यस्तै, सप्तरीको मुलबासी मुक्ति पार्टीले पनि सूर्य चिन्ह लिएर उठ्ने भएको छ । सो पार्टीका अध्यक्ष मो. इस्लामले सप्तरीको निर्वाचन क्षेत्र नं. ४ मा सूर्य चिन्ह लिएर चुनावमा उठ्ने गरी एमालेसँग सहमति गरेका थिए । नेपाल परिवार दलले पनि सूर्य चिन्ह लिएर उठ्ने गरी एमालेसँग सहमति गरेको छ । समाजवादी दलका अध्यक्ष प्रेमबहादुर सिंहले पनि आगामी निर्वाचनमा सूर्य चिन्ह लिएर उठ्ने भएका छन् ।

वामपन्थी दलहरुबीच चुनावी तालमेल र एकीकरण प्रक्रियामा सहमति हुनुअघि नै राजपाबाट विद्रोह गरेर स्वतन्त्र समूह गठन गरेका हृदयेश त्रिपाठीलगायत ५ जना नेताले सूर्य चिन्ह लिएर चुनावमा जाने सहमति गरेका थिए । सो समूहबाट वृजेशकुमार गुप्ता, ईश्वरदयाल मिश्र, पशुपतिप्रसाद मिश्रलगायत नेताले नवलपरासी, कपिलवस्तु र बाँकेमा सूर्य चिन्ह लिएर उठ्ने सहमति एमालेसँग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्