चुलीहरुलाई नाप्ने आँट गर्दछौ भने…


आज २६ डिसेम्बर । चिनियाँ कम्युनिष्ट आन्दोलनका शिखर–व्यक्तित्व माओ त्से तुङको १ सय २४ औं जन्म–जयन्ती । सन् १९७६ मा दिवंगत भएका माओलाई विश्वका क्रान्तिकारीहरुले हरेक वर्ष आजैका दिन सम्झिन्छन् र उनको स्मृति÷विचारलाई पछ्याउन चाहन्छन् ।

त्यसो त, माओ, चिनियाँ क्रान्ति र चिङकाङ सान पहाडको नाम एकापसमा यसरी जोडिएका छन्, जस बिना चिनियाँ क्रान्तिकारी साहित्य नै अपूरो हुन जान्छ । चीनको च्याङ्सी प्रान्तमा अवस्थित चिङकाङ पहाडलाई नै माओले चिनियाँ क्रान्तिको आधारभूमि बनाएका थिए । सन् १९२८ मा चिङकाङ पहाडमा लालसेनाहरु रहेको थाहा पाएपछि कोमिन्ताङका सेनाहरु लड्न आएका थिए । तर, लालसेनासँग लड्न आएका कोमिन्ताङका सेनाहरु त्यहाँबाट पराजयको स्वाद चाखेर भागेका थिए ।

चिनियाँ कम्युनिष्ट आन्दोलनका धरोहर माओले आफ्नो जीवनकालमा वैचारिक, दार्शनिक, सैद्धान्तिक ज्ञानहरु मात्र बाँडेनन्, राम्रा कविताहरु पनि लेखे । माओले आफ्नो प्रिय भूमि, प्रिय पहाड चिङकाङबारे केही कविता लेखेका थिए । संस्कृतिविद् सत्यमोहन जोशीले चार दशकअघि नै माओका कविताहरुको नेपाली भाषामा अनुवाद गरे र प्रकाशितसमेत भयो । जोशीद्वारा अनुदित ‘माओ च तुङका कविताहरु’ नामक पुस्तकमा संग्रहित चिङकाङ पहाडसित सम्बन्धित दुई कविता प्रस्तुत गरिएको छ ।

चिङकाङ पहाड

पहाडका फेदीमा हाम्रा झन्डा र निशानहरु फर्फराउँथे
माथि शिखरमा हाम्रा बिगुल र ढोलकहरु बज्दथे
हजारौं गुना बलियो शत्रुद्वारा हामीहरु घेरिएका थियौं
तैपनि हामीहरु निडर र अविचलित नै भै बसेका थियौं

हाम्रो सुरक्षा फलामे भित्ता सरी नै बलियो थियो
हाम्रो संकल्प पनि किल्ला सरी नै संयुक्त थियो
ख्वाङयाइच्येबाट तोपको ठूलो गर्जन के निस्केको थियो
रातारात नै शत्रुको सैन्य अनि भागेर गएको थियो ।

चिङकाङ सानमा फेरि पुग्दा

मैले धेरै समयदेखि आकांक्षा सँगालेको छु
बादलहरुलाई छुने
फेरि म आएको छु टाढाबाट
चढ्न भनेर चिङकाङ सान,
त्यो हाम्रो पुरानो आश्रय थलो
विगत दृश्यहरु फेरिइसकेका छन्

ओरियल चराहरु गाउँछन्
भीर–गौंथलीहरु कावा खाँदै उड्छन्
कलकल गरेर बग्छन् चारैतिर सोतोहरु
र बाटो अक्कासिँदै माथितिर लाग्छ
एकपल्ट ह्वाङ याङ चेलाई पार गरेपछि
अरु कुनै पनि भयंकर ठाउँले आँखा तान्दैन

बतास र चट्याङ चलायमान भइरहेछन्
ध्वजा र पताकाहरु उडिरहेछन्
जहाँ जहाँ मानिसहरु बस्दछन्
अठ्तीस वर्षहरु सडेर गइसके
यसो आँखा झिमिक्क गर्दैमा

हामी नवौं लोकमा चन्द्रमालाई अँगालो हाल्न सक्छौं
र पञ्चसिन्धुहरुमा गोटा खाएर कछुवाहरु समात्न सक्छौं
हामी विजयका गीत र खित्काहरुका माझ फर्कने छौं
यो संसारमा गाह्रो भनेको कुनै कुरो छैन
चुलीहरुलाई नाप्ने आँट तिमी गर्दछौ भने ।

प्रतिक्रिया दिनुहोस्