चे र फिडेलबीच पहिलो पटक भेट हुँदा…


फिडेल क्यास्ट्रोले संयुक्त राज्य अमेरिकामा क्युवाका प्रवासीहरुसित आगामी अभियानका लागि रकम जुटाइरहेका थिए । बातिस्ता (क्युवाको तत्कालीन सरकार) को विरोधमा आयोजित न्यूयोर्कको एक सभालाई सम्बोधन गर्दै फिडेलले भने, ‘म तपाईहरुलाई भन्न चाहन्छु, १९५६ मा कि त हामीले स्वतन्त्रता पाउनेछौं कि त सहिद हुनेछौं ।’

क्युवाका यी देशभक्तको आशा कुन कुरामा आधारित थियो ? सर्वप्रथम, बातिस्तालाई घृणा गर्ने आफ्नो देशका जनतामाथि, जनताको साहस र बुद्धिमत्तामाथि, जो इतिहासमा कयौं पटक देखिएको थियो, उनलाई विश्वास थियो । के यो सही थिएन, उन्नाइसौं शताब्दीमा क्युवाका जनता आफ्नो स्वतन्त्रताका लागि ५० वर्षदेखि युद्धरत थिएनन् ? के यिनै जनताले सन् १९३३ मा घृणित तानाशाह मशाडोलाई गद्दीबाट झारेका होइनन् ?

फिडेललाई आफ्ना समर्थकहरु र आफूद्वारा सञ्चालित २६ जुलाइको आन्दोलनमा भाग लिनेहरु वा त्यसमा सहानुभूति राख्नेहरुमाथि भरोसा थियो । मुख्य रुपमा ती व्यक्तिहरु विद्यार्थी, युवा मजदुर, कार्यालयका कर्मचारीहरु, शिल्पकारहरु र उच्च विद्यालयका वरिष्ठ छात्रहरु थिए । ती सबैमा राजनीतिक अनुभवको कमी थियो र उनीहरुका दिमागमा कुनै स्पष्ट कार्यक्रम थिएन । परन्तु, उनीहरुमा एकअर्को अमूल्य गुण पाइन्थ्यो, उनीहरु आफ्नो देशलाई माया गर्थे र बातिस्तालाई घृणा गर्दथे ।

ती मानिसहरुबीच फिडेल वास्तवमै हिरो थिए । आफ्ना समर्थकहरुजस्तै उनी पनि युवा थिए । उनी प्रतिभावान वक्ता थिए, उनको व्यक्तित्व धेरै नै आकर्षक थियो । उनी असीम साहसी र दृढनिश्चयी पनि थिए । क्युवाको इतिहासप्रति पूरै निर्बन्धित थिए र तत्कालीन राजनीतिक भुलभुलैयामा , बिना कुनै गल्ती अगाडि बढ्ने क्षमता पनि राख्दथे । उनलाई थाहा थियो कि, उनले कुन खराब पक्षसित लड्नु पर्दछ ? त्यसको चर्चा उनले पूरै दृढतापूर्वक, न्यायालयसामु दिएको बयान ‘इतिहासले मेरो कदमलाई सही ठह¥याउँछ’ मा थियो ।

यी दुईको कुराकानी ४९ अम्पारन स्ट्रीटस्थित मेरिया एन्टोनिया गोन्जाको घरमा भएको थियो । मेरिया एन्टोनिया क्यवाका मुल निवासी थिइन् र उनको बिहे मेक्सिकोका एक व्यक्तिसित भएको थियो । यी देशभक्तप्रति उनमा गहिरो आशा थियो । बातिस्ताको विरुद्ध भूमिगत संघर्षमा जुटेका उनका भाइ इसिदोरोले बातिस्ताको जेलमा क्रुरतम अत्याचारको सिकार हुनुपरेको थियो । मेक्सिको आएलगत्तै उनका भाइको मृत्यु भएको थियो । मेरिया एन्टोनियाले आफ्नो घरको ढोका फिडेलका समर्थकहरुका लागि खोलिदिएकी थिइन् । र, केही दिनपछि नै त्यो घर फिडेलेका हेडक्वाटर बन्न पुगेको थियो । ती व्यक्तिहरु उनीसँग खाना त खाँदैनथे तर त्यही घरमा भने बस्दथे । उसको घरमा पिर्काहरु, फोल्डिङ बेड, सबै प्रकारका साहित्य र हतियार छरिएर रहेका थिए । त्यहाँ आउनेहरुका निम्ति संकेत–चिन्ह र गुप्त पारिभाषिक शब्द बोल्नुपर्ने व्यवस्था थियो । मेरिया एन्टोनियाका एक छिमेकी स्टोरकिपर थिए र अर्का मित्र भने षड्यन्त्रकारीहरुका आगमनको सूचना हातको इसाराले दिने गर्दथे ।

फिडेल ९ जुलाई, १९५५, जुन दिन अर्जेन्टिनाको स्वाधीनता दिवस थियो, मेक्सिको नगरमा गएका थिए । राउलले अर्जेन्टिनाको ती डाक्टरको चर्चा गरेका थिए, जसले ग्वाटेमालाको घटनामा भाग लिएका थिए । उसले फिडेललाई सल्लाह दिए कि, फिडेलले चे ग्वेभारासँग कुराकानी गर्नुपर्छ ।

चे र फिडेलबीचको पहिलो भेटमा के कुराकानी भयो ? चेका अनुसार पहिलो कुराकानी अन्तर्राष्ट्रिय मुद्दासम्म सीमित रहेको थियो । फिडेलले आफ्नो योजना र राजनीतिक कार्यक्रमबारे चेलाई अवश्य पनि परिचित गराएका थिए ।

फिडेलले आफ्नो नयाँ मित्रलाई बताए, ‘हामी आफ्नो सैनिक कारबाही ओरियन्टेमा सुरु गर्नेछौं । क्युवाका सबै प्रान्तमध्ये ओरियन्टे सबभन्दा धेरै जुझारु, देशभक्त र क्रान्तिकारी प्रान्त हो । त्यही प्रान्तमा नै मेरा धेरै समर्थक र साथीहरु छन्् । त्यही प्रान्तमा नै हामीले मोनकाडा ब्यारेकमाथि कब्जा गर्ने प्रयास गरेका थियौँ । ओरियन्टे प्रान्तमा नै स्वतन्त्रता आन्दोलन सुरु भएको थियो र त्यही प्रान्तका जनताले नै बलिदान दिएका थिए । उनीहरुले नै धेरै बहादुरी देखाएका थिए र रगत बगाएका थिए । ती वीरतापूर्ण युगको सुगन्ध आज पनि ओरियन्टे प्रान्तमा महसुस गर्न सकिन्छ । बिहानीपख जब भालेले बास्न सुरु गर्दछ, त्यतिबेला यस्तो महसुस हुन्छ कि सैनिकहरुलाई जगाउने बिगुल बज्दैछ । जब देवदारले ढाकिएको पहाडमा सूर्य उदाउँछ, यस्तो लाग्छ कि बितेका दिनहरु फर्किएका छन् ।’

फिडेलले पछि भनेका थिए कि, प्रथम कुराकानीका बेला ‘चेमा क्रान्तिकारी विचार मभन्दा धेरै परिपक्व थियो, विचारधारा र सिद्धान्तको क्षेत्रमा उनी धेरै नै विकसित थिए र मभन्दा उनी धेरै नै क्रान्तिकारी थिए’ ।

फिडेलसित भएको पहिलो कुराकानीले आफूलाई पारेको प्रभावबारे चेले यसरी बताएका थिए, ‘मैले फिडेलसित पूरै रात कुराकानी गरेँ र बिहान हुने बेलासम्म भावी अभियानमा मेरो नियुक्ति डाक्टरको हैसियतमा भइसकेको थियो । वास्तवमा ल्याटिन अमेरिकाको भ्रमणको क्रम, खासगरी ग्वाटेमालाको घटनापछि, मैले जुन अनुभव प्राप्त गरेको थिएँ, त्यसको फलस्वरुप कुनै पनि अत्याचार विरुद्ध क्रान्ति गर्नका लागि मलाई धेरै समय कुर्नु पर्ला भन्ने लाग्दैनथ्यो । यसबाहेक फिडेलले एक असाधारण व्यक्तिका रुपमा मलाई प्रभावित तुल्याएको थियो । जटिलभन्दा जटिल समस्याहरु सुल्झाउन उनी सक्षम थिए र उनलाई पूर्ण विश्वास थियो कि, क्युवाका लागि एक पटक हिँड्ने बित्तिकै उनी त्यहाँ पुग्नेछन्, त्यहाँ पुगेपछि संघर्ष सुरु गर्नेछन् र संघर्ष सुरु भएपछि त्यसले विजय प्राप्त गर्नेछ । म उनको उत्साहले प्रभावित बनेको थिएँ । कार्यक्षेत्रमा उत्रिनु, ठोस कदम उठाउनु र संघर्षमा उत्रिनु आवश्यक भइसकेको थियो । सिकाउने कुरालाई बन्द गरेर अगाडि बढ्ने समय आइसकेको थियो ।’

परन्तु, प्रारम्भमा चेको आशावादमा पनि सन्देहको गहिरो पुट पाइन्थ्यो । बातिस्ताको सत्ता पल्टाएपछि चेले लेखेका थिए, ‘जब विद्रोहीहरुका कमाण्डरलाई मैले पहिलो पटक भेटेको थिएँ, मेरो मनमा विजयप्रति सन्देह थियो । म त उनको साहसिक कार्यप्रति प्रेमका कारण आकर्षित भएको थिएँ । त्यतिबेला मैले सोचेको थिएँ कि, यति धेरै उच्च आदर्शका लागि शत्रुको आक्रमणमा मर्नु खराब मृत्यु होइन ।’

चेले कुन आदर्शको कुरा गरेका थिए ? यो प्रश्नको उत्तर हामी चेद्वारा रचित ‘फिडेलको सम्मानमा गीत’ मा पाउन सक्छौं । यो गीत २६ जुलाई आन्दोलनका नेतासितको प्रथम भेटपछि लेखिएको थियो र चेको मृत्युपछि प्रकाशित भएको थियो । गीतका केही पंक्ति यस्ता थिए,

‘कृषि सुधार, न्याय, रोटी र स्वतन्त्रता
जब तिम्रो यो नारा सबै दिशामा गुञ्जेला
तब यही नारालाई दोहो¥याउँदै
तिमीले हाम्रो साथ पाउनेछौ
ती दिन जब राक्षसले आफ्नो उदर चाटिरहन्छन्
जहाँ राष्ट्रियकरणको हतियारले उसको छिद्र केलाउँछ
त्यहाँ तिम्रो साथ हामी हुन्छौं, आफ्नो अभिमानी र बफादार हृदयका साथ…।
(यी अंशहरु लेव्रेत्सकीद्वारा लिखित चे ग्वेवाराको जीवनीबाट लिइएका हुन्)

प्रतिक्रिया दिनुहोस्