चौतारीको मञ्चबाट महासचिव पोखरेलले भने– ‘मोर्चा परिवर्तन भयो ‘मिसन’ परिवर्तन भएको छैन


१५ भदौ। नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले पार्टीको मोर्चा परिवर्तन भए पनि मिसन (लक्ष्य) परिवर्तन नभएको बताएका छन् ।

प्रेस चौतारी नेपालको केन्द्रीय कमिटी बैठकको सिन्धुलीमा उद्घाटन गर्दै उनले राष्ट्रिय स्वाभिमान, स्वाधीनता, आर्थिक विकास र मुलुकको समृद्धि पार्टीको लक्ष्य भएकाले प्रमुख प्रतिपक्षमा रहेर पनि जनताका मुद्दा बोक्न उत्तिकै जिम्मेवार हुने बताए ।
उनले एमालेले बोकेको मुद्दा पार्टीको मात्र नभई सिङ्गो मुलुककै भएकाले ती मुद्दालाई जनताका बीचमा जागरणका रुपमा लैजान पार्टी परिचालित हुने पनि उल्लेख गरे ।

एमालेका सचिव गोकर्ण विष्टले ओली नेतृत्वको सरकारले गरेका लोकप्रिय कामको जगमा पार्टी प्रतिपक्षमा रहँदा एकतावद्ध भई आगामी प्रतिस्पर्धामा श्रेष्ठ हुने गरी अगाडि बढ्ने बताए ।

अर्का सचिव योगेश भट्टराईले संविधान बमोजिम स्थानीय तह र अन्य तहको निर्वाचन समयमा गर्न सरकारसँग माग गर्दै निर्वाचन नगर्ने र अनावश्यक विषयमा संविधान संशोधन गराउन खोजेर मुुलुकलाई अधोगतिमा धकेल्ने प्रयास चिनुपर्ने बताए ।

पार्टीका केन्द्रीय सदस्य सूर्य थापाले प्रेस चौतारी नेपालले व्यावसायिक र वैचारिक रुपमा आफूलाई थप सशक्त बनाउन बैठकको सफल होस् भनी कामना गरे ।
नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले श्रमजीवी पत्रकारको वृद्धि भएको न्यूनतम पारिश्रमिक लागू गराउन दबाब सिर्जना गर्ने बताए । एमाले केन्द्रीय सदस्य कमलजङ्ग राई, एमाले सिन्धुलीका अध्यक्ष प्रदीप कटुवाल, सांसद् गणेश पहाडीलगायतले बैठकको सफलताको कामना गरे ।
कार्यक्रममा वरिष्ठ पत्रकार कुन्दन अर्यालले ‘लोकतान्त्रिक संस्कृति निर्माणमा मिडियाको भूमिका’ विषयमा कार्यपत्र प्रस्तुत गरे ।
चौतारीका अध्यक्ष गणेश बस्नेतले व्यावसायिक रुपमा दक्ष र वैचारिक रुपमा प्रस्ट पत्रकारको संस्थाका रुपमा सङ्गठनलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।
गत जेठ ६ देखि ८ सम्म काठमाडौँमा सम्पन्न आठौं अधिवेशनबाट चयन भएको चौतारीको नयाँ नेतृत्वको दोस्रो पूर्ण बैठकले तीन वर्षको कार्यकालका लागि कार्ययोजना, कार्य विभाजनलगायतका कार्यसूचीमा छलफल गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्