चौतारीले सोध्यो, २४ घण्टे स्पष्टिकरण


१८ फागुन । प्रेस चौतारी नेपालले उपाध्यक्ष सविन प्रियासनसहित चार जनालाई चौविस घण्टे स्पष्टिकरण सोधेको छ । नेपाल पत्रकार महासंघ दाङ शाखाको निर्वाचनको क्रममा संगठनको विधान, नीति, निर्देशिका लगायतलाई उल्लङ्घन गरेर गतिविधि गरेको भन्दै स्पष्टिकरण सोधेको हो ।

चौतारी स्रोतका अनुसार बुधवार प्रेस चौतारीका महासचिव राजेश राईले पाँच नम्बर प्रदेश इञ्चार्ज समेत रहेका प्रियासन, प्रेस चौतारी दाङका अध्यक्ष टिका बस्नेत, उपाध्यक्ष संगित बस्याल र प्रेस चौतारी नेपाल प्रदेश नम्बर पाँचका प्रदेश कमिटी सदस्य दुर्गालाल केसीलाई स्पष्टिकरण सोधेका छन् ।

स्रोतका अनुसार चारै जनालाई २४ घण्टाभित्र लिखित स्पष्टिकरण दिनु भनिएको छ । नेपाल पत्रकार महासंघ दाङ शाखाको निर्वाचनका क्रममा उपाध्यक्ष प्रियासनले प्रेस चौतारी केन्दको निर्णय विपरीत दाङ शाखामा अध्यक्ष पदमा उम्मेदवारी दिएका थिए । निर्वाचन अघि बसेको सचिवालयको बैठकले चौतारीका केन्द्रीय पदाधिकारी तथा सदस्यहरुले विशेष अवस्थामा बाहेक उम्मेदवारी दाबी नगर्ने र नदिने निर्णय गरेको थियो ।

स्रोतका अनुसार उपाध्यक्ष प्रियासनलाई संगठनको निर्णय विपरीत उम्मेदवारी दिनुको कारण बारेमा स्पष्टिकरण सोधिएको छ । निर्वाचनको क्रममा कमिटीमा अल्पमतमा पर्ने सम्भावना देखेपछि अध्यक्ष बस्नेतले महासंघको उम्मेदवार तोक्ने विषयमा कुनै निर्णय नै गराएका थिएनन् । चौतारीले केन्दले संगठनलाई अनिर्णयको बन्दी बनाउनुको कारण के–हो भनी सोधेको छ ।

यसैगरी बस्याललाई अध्यक्षको अनुमति विना बैठक किन बसाएको र केसीलाई के आधारमा उम्मेदवार बनेको भनी स्पष्टिकरण सोधिएको छ ।  चौतारीले यस अघि रुपन्देही र कास्कीमा संगठनको निर्णय विपरीत उम्मेदवारी दिनेहरुलाई कारबाही गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्