छात्रवृत्ति कोषमा ४२ लाख संकलन


 
२६ असोज । पूर्वी चितवनको खैरहनीमा गरिब र जेहेन्दार विद्यार्थीका लागि स्थापित छात्रवृत्ति कोषमा ४२ लाख सङ्कलन भएको छ । एक व्यक्तिले सुरु गरेको उक्त अभियानमा यसरी रकम सङ्कलन भएको हो । चार वर्षको अन्तरालमा उक्त कोषबाट विपन्न २५२ जना विद्यार्थीलाई झन्डै रु ६ लाख छात्रवृत्ति वितरण भएको छ ।

उच्च माविमा स्थापित जन्मोत्सव तथा स्मृत्ति छात्रवृत्ति अक्षयकोषमा रु ४२ लाख ५८ हजारभन्दा बढी रकम सङ्कलन भएको कोषका अध्यक्ष मुरलीप्रसाद गजुरेलले जानकारी दिए । कसैको स्मृति, जन्मदिन, या कुनै समारोहमा खर्च हुने पैसा यहाँ सङ्कलन गर्ने गरी गजुरेलले सैरहनी उमावि स्कुलसँगको सहकार्यमा कोष निर्माण गरेका हुन् ।

अक्षय कोषमा जम्मा भएको रकमबाट आएको ब्याजबाट आव २०६९÷०७० मा ७२ जना लाई रु ९० हजार, २०७०÷०७१ मा ५६ जनालाई रु एक लाख, २०७१÷०७२ मा ५३ जनालाई रु एक लाख ४८ हजार छात्रवृत्ति दिइएको छ ।

यस्तै आव २०७२÷०७३ मा ७१ जनालाई रु दुई लाख ४८ हजार बराबरको छात्रवृत्ति वितरण गरिसकेको अध्यक्ष गजुरेलले जानकारी दिनुभयो । सामाजिक अभियानका रुपमा अगाडि बढेको सो कोषमा २०७५ सालसम्म एक करोड बनाउने लक्ष्य लिइएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्