छिमेकीको साथ लिएर समृद्ध नेपालको सपना पुरा गर्छौः प्रधानमन्त्री ओली


काठमाडौ, ६ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकीको साथ लिएर समृद्ध नेपालको सपना पूरा गरिने बताएका छन् । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले मुलुकभित्रको स्रोत, साधन र छिमेकीको साथ लिएर समृद्ध नेपालको सपना पुरा गरिने बताएका हुन ।
सरकारी र निजी क्षेत्रका संस्थासँगको सम्झौतामा हस्ताक्षर गर्न बेइजिङस्थित नेपाली दूतावासमा आयोजित समारोहमा बुधवार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संयुक्त लगानी र विभिन्न ढाँचाको लगानी तथा सहकार्यबाट दुवै देशका जनताले लाभ लिन सक्ने बताए ।
विभिन्न आठ सम्झौतापत्रमा हस्ताक्षर हुनुले दुई देशको मित्रता, समझदारी र सहकार्य अगाडि बढाउन योगदान गर्ने तथा यसले नेपालको आर्थिक उन्नती र दुवै देशका जनताको हित हुनेमा आफू विश्वस्त रहेको बताए ।
नेपालको व्यापार घाटा कम गर्न, आयात कम गर्न र निर्यात बढाउन चिनियाँ सहयोगको अपेक्षा गर्दै प्रधानमन्त्रीले संविधान जारी भएपछिको निर्वाचनबाट नयाँ, स्थायी र स्पष्ट प्रतिबद्धताको सरकार बनेको अवस्थामा सुशासन र विकासका लागि अनुकूल वातावरण सिर्जना भएको बताए ।

प्रतिक्रिया दिनुहोस्