छोराको प्रश्नमा यसरी जवाफ दिएका थिए भारतीय कम्युनिष्ट नेता नम्बूदिरिपादले


कुनै पनि छोराले आफ्नै बाबुको अन्तर्वार्ता लिएको सायदै भेटिएलान् । अपवादमा मात्र यस्तो हुन्छ । तर, भारतीय कम्युनिष्ट आन्दोलनका शिखर–पुरुष एवं केरलामा लामो समयसम्म कम्युनिष्ट पार्टीको मुख्यमन्त्री रहेका ई. एम.एस. नम्बूदिरिपाद र उनका छोरा ई. एम. श्रीधरनबीच कुनै समय रोचक सवाल–जवाफ भएको थियो । खासगरी, पारिवारिक सवालमा भएको थियो, पिता र पुत्रबीच सम्वाद ।
सन् १९९८ मै दिवंगत भएका नम्बूदिरिपाद र उनका छोराबीच भएको सम्वाद नै उनको अन्तिम साक्षात्कार पनि थियो । प्रस्तुत छ, बाबु र छोराबीचको रमाइलो सम्वादका केही अंश । यो सम्वाद हिन्दी पत्रिका ‘उद्भावना’बाट अनुवादसहित साभार गरिएको हो ।

छोराः सन् १९६८ मा तपाईको आत्मकथा छापिएको थियो । केही आलोचकले बताए कि, त्यसमा न कुनै आत्मा छ, न कुनै कथा । यसभन्दा पहिलाका केही अध्याय कुनै इतिहासजस्तै पढ्न सकिन्छ । यतिसम्म कि, त्यसमा तपाईले आफ्नो मातापिताबारे पनि केही उल्लेख गर्नुभएको छैन । के यी सबै जानेर नै नगर्नुभएको हो कि एउटा संयोग मात्रै हुनपुगेको हो ?

नम्बुदिरीपाद ः यही प्रश्न मलाई पहिला पनि टी. शंकरणले सोधेका थिए । उनले मलाई सोधेका थिए, वीटी भत्तात्रिप्पदका आत्मकथा ‘कन्निरुम किनावम’ मानिसहरुले औधी रुचाए, तपाई पनि किन त्यस्तै किताब लेख्नु हुन्न ? मैले भनेको थिएँ, यसको उत्तर कि त मेरो आत्मकथामा छ कि त अन्तै । पहिलो कुरा त, ममा वीटीमा जस्तो साहित्यिक क्षमता छैन । दोस्रो कुरा, म आफूलाई एक सामाजिक कार्यकर्ता मान्छु । यो मेरो आफ्नो ‘स्व’ हो र यसमा आत्म–नकार जस्ता कुनै पनि कुरा छैनन् । आफ्नो आत्मकथामा म छु र त्यसमा पनि सामाजिक र राजनीतिक रुपमा छु । तसर्थ, मेरो आत्मकथा ती दिनका मेरा सामाजिक जीवनबाट सुरु हुन्छ । मेरो सोचाइ थियो कि, मलाई बनाउन मेरो सामाजिक जीवनको भूमिका छ र त्यस भूमिकाको विवरण मेरो आत्मकथामा अवश्य नै छ ।

छोराः असमर्थता प्रकट गर्दा सही उत्तर मिल्दैन । किनकि, ‘एक भारतीय कम्युनिष्टको सम्झना’ मा कम्तिमा पनि एउटा अध्यायमा तपाईको ‘स्व’ सतहमा आउँछ ।

नम्बूदिरिपादः जोसेफ मुन्दासेरीले मेरो आत्मकथा प्रकाशित हुने समयमा बताएका थिए कि, मेरा ‘स्व’ आत्मकथामा मुखर रुपमा सामुन्ने आएको छ । विशेष रुपमा दुई वटा घटनामा । पहिलो त, जब म जेलबाट निस्किएँ र त्यसपछि आमालाई भेट्न गएको थिएँ, त्यतिबेला धेरै नै चिन्तित हुँदै आमाले सोधिन्, के म फेरि जेल जानेछु ? जसको कारण आमाले मानसिक दबाब झेल्नुपरेको थियो । दोस्रो घटना, मेरी सानी बहिनीको मृत्युको हो । यी दुई घटनाको उल्लेख मेरो आत्मकथा छ ।

छोराः मेरो सवाल त्यस्तो होइन । मेरो सवाल के थियो भने, के तपाई आत्मकथालाई राजनीतिक शिक्षाको रुपमा देख्नुहुन्छ, जो तपाईको राजनीतिक जिम्मेवारीको एउटा भाग हो…।

नम्बुदिरीपादः हो, यहीँ हो । जहाँसम्म मेरो कुरा छ, मेरो आत्मकथा मेरो संगठनको इतिहास हो, राष्ट्रको इतिहास हो । केरलाको इतिहास हो । यदि, मेरो आत्मकथाको नाम ‘एक मुख्यमन्त्रीको सम्झना’ हुन्थ्यो त, जनताले के अपेक्षा राख्थे ? सायद, उनीहरुले सरकारको शासनकालमा भएका घटनाहरुबारे पढ्ने आशा राख्न सक्थे । तथापि, म पहिला कम्युनिष्ट थिएँ, त्यसपछि मुख्यमन्त्री भएँ । यसैले कम्युनिष्ट पार्टीमा भएका घटना र आन्दोलन मेरो आत्मकथाको केन्द्रमा रह्यो ।
छोराः जब तपाई आत्मकथाबाट मलयालम भाषामा लेखिएको दोस्रो आत्मकथात्मक कृति ‘ओरमाकुरिप्पकल’ सम्म आइपुग्दा, तपाईको दृष्टिकोणमा यस्तो परिवर्तन स्पष्ट रुपमा देखिन्छ कि, त्यसमा तपाईमा आफ्नी पत्नी र आमाप्रति आफ्नो कर्तव्य निभाउन नसक्नुको अपराध भाव रहेको छ । र, यो अपराध भाव तपाईमा आएको परिवर्तनको मुल कारण रहन पुग्यो । के मैले ठीक भनिरहेको छु ?

नम्बूदिरिपादः हो, त्यस्तै हो । मैले एकजना परिवारको सदस्यको रुपमा आफ्नी आमा र पत्नीप्रति आफ्नो कर्तव्य निभाउन सकिनँ । म व्यक्तिगत रुपले यसका निम्ति जिम्मेवार छैन । मेरो जीवनपथ नै त्यस्तै रह्यो ।

छोराः तपाईले राजनीति सुरु गर्दाको समयमा धेरैजसो क्रान्तिकारीहरुले आफूले रोजेको बाटो कठिन रहेको ठानेर या त विवाह गरेनन्, या निःसन्तान रहन नै उचित ठाने ।

नम्बूदिरिपादः जब हामी पुस्ताको कुरा गर्छौं, त्यतिबेला धेरैजसो क्रान्तिकारी, जो अविवाहित रहे, उनीहरु बंगालका थिए । बंगालका पहिलाका क्रान्तिकारीहरुमा यो एउटा परम्पराकै रुपमा रह्यो । भाकपाका प्रमोद दास गुप्ता पनि अविवाहित नै रहे । अरु कयौं क्रान्तिकारीहरुले पनि विवाह गरेनन् । तर, धेरैजसो त बंगालका क्रान्तिकारीहरुले विवाह गरेनन् ।

छोराः तपाईकी आमाले तपाईलाई विवाहका लागि धेरै अनुरोध गर्नुभयो । त्यसबेला तपाईले विवाह गर्न मान्नु भएन । धेरै समयपछि तपाईले विवाह गर्नुभयो ।

नम्बूदिरिपादः यसमा आमाको कुनै लेनदेन थिएन ।

छोराः केही व्यक्तिहरु बताउँछन् कि, तपाईलाई पार्टीका नेताहरुले पनि विवाहका लागि दबाब दिएका थिए । यो पनि सुनिएको थियो कि, तपाईलाई विवाहमा दाइजो आउनेवाला थियो र त्यो दाइजो ‘प्रभाथम’ नामक पत्रिका निकाल्नका लागि खर्च गर्ने कुरा थियो । के यो सत्य हो ?

नम्बूदिरिपादः यी सबै फाल्तु कुरा हुन् । ‘प्रभाथम’ सन् १९३५ मा सुरु भएको थियो र मेरो विवाह त्यसको दुई वर्षअगाडि नै भएको थियो । पत्रिका पे्रसमा छापिँदै थियो । प्रिन्टिङ प्रेस र अखबार खरिद गर्न मैले आफ्नो परिवारको सामथ्र्यअनुरुप पैसा खर्च गरेको थिएँ ।

छोराः दाइजो बापत कति पाउनुभएको थियो ?

नम्बूदिरिपादः दाइजो ? रु. ६५००।–

छोराः यो पैसा केमा खर्च गर्नुभयो ?

नम्बूदिरिपादः त्यतिबेला सम्म मेरो पैतृक निवासको अंशबन्डा भइसकेको थियो । ममा ऋण लागेको थियो र त्यो पैसा ऋण तिर्न खर्च गरेँ ।

छोराः के तपाईको मनमा कहिल्यै अविवाहित नै बस्ने विचार आयो ? यदि यस्तो विचार आएन भने विवाह र परिवार अनावश्यक चिज हो ?

नम्बूदिरिपादः ममा कहिल्यै अविवाहित रहने विचार आएन । सबभन्दा पहिले मैले सामाजिक सुधारको आन्दोलनमा भाग लिएको थिएँ । यो हाम्रो सामाजिक सुधार आन्दोलनको हिस्सा थियो कि, परिवारमा कान्छो छोराको विवाह हुनुपर्दछ । म परिवारमा सबभन्दा कान्छा थिए ।

छोराः जुन प्रेम र स्नेह तपाईले हामीलाई दिनुभएन, अब त्यो प्रेम र स्नेह मेरा बच्चाहरुलाई दिइरहनुभएको छ । के यो कुनै अपराधबोधको कारणले हो ?

नम्बूदिरिपादः जब तिमी बच्चा थियौ, म कहिल्यै पनि घरमा भइनँ । मलाई कि त कलकत्तामा रहनु पर्दथ्यो, कि बम्बइमा । बच्चाप्रति माया ऊ ठूलो भएपछि झनै उर्लिएर आउँछ । म घरभन्दा टाढा रहे पनि घर भने आइरहन्थेँ ।

छोराः कहिलेकाहीँ घर आउने अतिथि ?

नम्बूदिरिपादः (हाँस्दै) अँ, सायद यस्तै सम्झ । जब म भूमिगत भएँ, मालती (छोरी) त्यस्तै एक साल, दुई–तीन महिनाकी थिइन् र मलाई भने तिमी जन्मिएको केही घन्टा पहिले गिरफ्तार गरिएको थियो । म धेरै लामो समयसम्म जेलमा रहेँ ।

छोराः हरेक पिता आफ्ना बच्चालाई देखेर सपना बुन्छन् र के आफ्ना सन्तान सही ढंगले हुर्किरहेका छन् ? के उनीहरु सही बाटोमा हिँडिरहेका छन् ? यस्ता सोच आउँछन् । के तपाईको मनमा पनि कहिल्यै यस्ता सोचहरु आए ?

नम्बूदिरिपादः मेरो विचारमा, बच्चाहरुले आफ्नो भविष्य आफै बनाउँछन् । तिमीले पनि बाहिर रहेर काम गर्नुभन्दा पार्टीमा आबद्ध भएर काम गर्न चाहेका थियौ । तब मैले त्यतिबेला भनेको थिएँ, ‘पार्टी नेताका रुपमा म तिम्रो स्वागत गर्छु तर म पार्टीमा काम गर्न तिमीलाई बाध्य पार्दिनँ ।’

छोराः तपाई सन् १९४० को दशकमा भूमिगत हुनुभयो । अप्पुकुटनले आफ्नो पुस्तक ‘अनजाने ई.एम.एस.’ मा तपाई भूमिगत हुँदाको तुलना गौतम बुद्धसँग गरेका छन् । गौतम बुद्धले सुतिरहेका राहुल र यशोधरालाई छोडेर हिँडेका थिए । दरबार छाडेर हिँड्दा बुद्धलाई पक्का महसुस थियो कि, ऊ फर्केर आउनेवाला छैन । जब तपाई भूमिगत हुनुभयो तपाईमा यस्तो भावना कहिल्यै आएन ?

नम्बूदिरिपादः म कहिल्यै पनि फर्केर आउँदिन्नँ, यस्तो भावना ममा कहिल्यै उत्पन्न भएन । यद्यपि, सबै नै अनिर्णित थियो । कसले जान्दथ्यो कि, के हुन्छ ?

छोराः गौतम बुद्धलाई त थाहा थियो कि, उनले छाडेर गए पनि राहुल र यशोधराको हेरचाह अरु व्यक्तिहरुले गर्नेछन् । के तपाईको सवालमा पनि त्यस्तो भयो ?

नम्बूदिरिपादः हो, मलाई पक्का यकिन थियो । राहुल र यशोधरासित गुजारा चलाउन सम्पत्ति थियो । जब परिवारका बीच अंशबन्डा भयो, मेरो विवाह भएको थिएन । पछि मैले आफ्नो भाग उनको नाममा गरिदिएँ । मलाई थाहा थियो कि, मेरी पत्नी भोकै मर्दिनन् ।

छोराः के तपाईले कहिल्यै सक्रिय राजनीति छाडेर अरु पेशा, व्यवसाय गर्ने विचार राख्नुभयो ?

नम्बूदिरिपादः अहँ, त्यस्तो कहिल्यै सोचिनँ । १९६० देखि १९६४ सम्मको अवधि संकटपूर्ण थियो । त्यस बेला कयौं समस्याले घेरिएको थिएँ, जसले राजनीतिक अनिश्चितताको स्थिति उत्पन्न भएको थियो । पारिवारिक समस्या पनि तिखो थियो । सबै बच्चा ठूला हुँदै गएका थिए । मसित कुनै सम्पत्ति थिएन । मेरा लागि जीवन धान्न मुस्किल थियो ।

छोराः के तपाईलाई पार्टीले पैसा दिँदैनथ्यो ?

नम्बूदिरिपादः अहँ, पार्टीबाट पैसा मिल्दैनथ्यो ।

छोराः कसरी जीवन निर्वाह गर्नुहुन्थ्यो त ?

नम्बूदिरिपादः केही व्यक्तिहरुले मलाई सहयोग गरे । केही लेखहरु लेखेँ । इन्डियन एक्सप्रेस र केही अरु अखबारहरुमा लेख लेखेँ ।

छोराः सन् १९८७–८९ मा तपाई बिरामी हुँदा अखबारहरुले तपाईलाई क्यान्सर भएको समाचार लेखे । त्यस बेला तपाईको मानसिक स्थिति कस्तो थियो ?

नम्बूदिरिपादः त्यतिबेला मेरो कुनै खराब मानसिक स्थिति थिएन । अखबारमा जुन समाचार छापिएको थियो, त्यो डाक्टरको कारणले छापिएको थियो । डाक्टरले अप्रेसन गर्ने सल्लाह दिएका थिए । र, मेडिकल कलेजले सबै तयारी गरेको थियो । जर्मनीबाट पनि निमन्त्रणा आएको थियो । क्यान्सरले मेरो दिमागमा कुनै असर पु¥याएन ।

प्रतिक्रिया दिनुहोस्