जटिलताको वहाना बनाएर निर्वाचन नगर्ने प्रयासहरु एमालेले असफल बनाउँछः केपी ओली


१५ माघ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जटिलताको वहाना बनाएर निर्वाचन नगर्ने प्रयासहरु भइरहेको आरोप लगाएका छन् । उनले प्रेस चौतारी नेपाल चितवनले शनिवार आयोजना गरेको कार्यक्रममा यस्तो आरोप लगाएका हुन् । ‘निर्वाचन नगराउन सम्भव छैन,’ उनले भने, ‘मुलुकमा संवैधानिक र राजनीतिक सङ्कट आउन नदिन एमाले दृढ सङ्कल्पित छ ।

उनले आगामी  माघ ७ गतेभित्र तीनै तहको निर्वाचन गर्न सबै दल लाग्नु पर्नेमा जोड दिए । तोकिएको समयमा प्रतिनिधिसभाको निर्वाचन हुन सकेन भने संविधानसभाबाट रुपान्तरित व्यवस्थापिका–संसद्को समय सकिने उनको भनाइ थियो ।

संसद् सदस्य नरहेमा प्रधानमन्त्रीको पद रिक्त हुने भन्दै ओलीले भने– ‘प्रधानमन्त्री वा सरकार बनाउन संस्था र प्रक्रिया चालु नभएका बेला काम चलाउ भन्न पनि नमिल्ने गम्भीर समस्या पैदा हुन्छ ।’ उनले एमालेको सबैभन्दा बढी जोड मुलुकमा संवैधानिक र राजनीतिक सङ्कट नआओस् भन्नेमा रहेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्