जडीबुटी–सूर्यविनायक सडक खण्ड : ठूला सवारीसाधनलाई अब छुट्टै लेन


काठमाडौं, १४ फागुन । २२ माघ राति कलंकी अन्डरपासमा बा.४ख ८५६९ नम्बरको टिपरले ओभरटेक गर्ने क्रममा मोटरसाइकललाई ठक्कर दियो ।

टिपरको ठक्करबाट रौतहटका १९ वर्षीय मोटरसाइकचालक राजेश चौधरी र मोटरसाइकलमा सवार २४ वर्षीय मुन्ना चौधरीले ज्यान गुमाए । ठक्कर दिएर भागेको टिपरलाई प्रहरीले नख्खुबाट नियन्त्रणमा लियो ।

कलंकीमै सोमबार साँझ सडकमा गुडिरहेको ना.६ख २८७१ नम्बरको ट्रक चालकको नियन्त्रण बाहिर गयो । ट्रकको ठक्करबाट स्कुटरचालक चितवनका ३३ वर्षीय शम्शेर गुरुङले ज्यान गुमाए । ट्रकले १२ वटा सवारीसाधनलाई ठक्कर दिनुका साथै ७ जना घाइते भएका थिए ।

भक्तपुरको च्याम्हासिंहबाट ब्रम्हायणीतर्फ जाँदै गरेको बा.३क ३५८८ नम्बरको ट्रकले आइतबार साँझ पैदलयात्री तिलक मकाजूलाई ठक्कर दियो । घाइते मकाजूको उपचारका क्रममा सोमबार मृत्यु भयो ।

सोमबारै बिहान ७ बजे सिन्धुलीको गोलन्जरमा ट्रकको ठक्करबाट पैदलयात्री नन्दलाल श्रेष्ठको ज्यान गयो । स्थानीयले विरोधस्वरूप चक्काजाम गरेपछि कमलामाई नगरपालिकामा आयोजित कार्यक्रममा सहभागी हुन हिँडेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल बीच बाटोबाटै फर्किए ।

टिपर, मालबाहक वा यात्रुबाहक ठूला सवारीसाधन सडकमा अनियन्त्रित गतिमा हुइँकिँदा साना सवारीसाधन र यात्रुहरूले भोग्नुपरेका यी केही उदाहरण मात्रै हुन् । ट्रक–टिपरका कारण उपत्यकामा पछिल्लो तीन वर्षमा मात्रै १५९ जनाको मृत्यु भएको प्रहरीको तथ्यांक छ । चालू आर्थिक वर्षको पहिलो चार महिनामा मात्रै १२ जनाको ज्यान गएको छ ।

ठूला सवारीसाधन दुर्घटनाका कारण उपत्यकामा आव ०७५–७६ मा ४१ जना, ०७४–७५ मा ४१ जना र ०७३–७४ मा ६५ जनाको मृत्यु भएको थियो । उपत्यकामा बिहान ५ देखि बेलुकी ८ बजेसम्म टिपर चलाउन पाइँदैन । तर, मालबाहक सवारीसाधनका लागि यो नियम लाग्दैन ।

काठमाडौं उपत्यकामा मात्रै पाँच हजार टिपर
उपत्यकामा मात्रै करिब पाँच हजार पाँच सयवटा टिपर गुड्छन् । ट्राफिक महाशाखाका अनुसार काठमाडौं, ललितपुर र भक्तपुरमा पछिल्ला आठ वर्षमा टिपर–ट्रकका कारण ९ हजार ९ सय ४४ वटा दुर्घटना भएका छन् ।

चालू आर्थिक वर्षका पहिला चार महिनामा मात्रै ६ सय ९५ वटा दुर्घटना भए । आव ०७५–७६ मा उपत्यकामा १ हजार ७ सय ८१ दुर्घटना भएका थिए भने ०७४–७५ मा १ हजार ५ सय ८० दुर्घटना भएका थिए ।

सडकमा ठूला गाडीले मनपरी गर्दा साना सवारीलाई मुस्किल पर्ने गरेको भक्तपुर प्रहरी प्रमुख एसपी सविन प्रधानले बताए । सडकमा टिपर गुडेको लहर देखाउँदै एसपी प्रधानले भने, ‘दिनभर लाम लागेका टिपर साँझपख बाटो लाग्छन्, टिपर गुड्न थालेपछि अरू गाडीलाई ओभरटेक गर्नै मुस्किल पर्छ ।’ सडकमा ठूला मालबाहक गाडी, टिपर, ट्रक र यात्रुबाहक बसले लेन अनुशासन मिचेर दायाँ–बायाँ गर्दै गुड्दा साना गाडीलाई मार पर्ने उनको भनाइ छ ।

एसपी प्रधानले उपत्यकामा दिनभर टिपर सञ्चालन रोक लगाउनुको सट्टा टिपरलाई रुट परमिट दिनै बन्द गर्नुपर्ने बताउँछन् । यता यातायात व्यवस्था विभागका निर्देशक तीर्थराज खनाल पनि सडकमा टिपर र ठूला सवारीले दादागिरी देखाउने गरेको स्वीकार गर्छन् । भन्छन्, ‘टिपर र ठूला गाडीका चालक २० देखि २५ वर्षका धेरै छन्, छिटो कुदाउनु, ट्राफिक नियम मिच्नु उनीहरूका लागि खुसीको कुरा हुन्छ, त्यसैले समस्या आउने हो ।’

ट्राफिक व्यवस्थापनका लागि कार्यदल
महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाभित्रको ट्राफिक व्यवस्थापनका समस्या सुल्झाउन कार्यदल बनाएको छ । एसपी जीवनकुमार श्रेष्ठ संयोजकत्वको कार्यदलले काठमाडौं, ललितपुर र भक्तपुरका सडक, त्यहाँ गुड्ने गाडी र ट्राफिक प्रहरीको पहलमा गर्न सकिने सुधारका विषयमा अध्ययन थालेको छ ।

कार्यदलका सदस्य पूर्वट्राफिक प्रहरी निरीक्षक सीताराम हाछेथूका अनुसार कार्यदलले पहिलो चरणमा सडकमा ठूला गाडीको मनपरी कम गर्ने र दुर्घटना न्यूनीकरण गर्ने पहल थालेको छ । उनले भने, ‘लेन अनुशासन कडाइ गर्ने, वान वे र टु वे छुट्याउने, जेब्रा क्रसिङ थप्ने वा हटाउनेजस्ता विषयमा अध्ययन गर्दैछौँ ।’

सडकमा ठूला गाडीले तीव्र गतिमा ओभरटेक गर्दा दुर्घटना बढी हुने र क्षति पनि बढी हुने भएकाले लेन अनुशासनलाई कडाइका साथ लागू गर्नुपर्ने कार्यदलले सुझाब दिएको छ । ‘सडकमा ठूला गाडीले लेन अनुशासन मान्दैनन्, प्रतिस्पर्धा गरेर गुडाउँछन्, जथाभावी ओभरटेक गर्दा साना गाडीलाई ठक्कर दिन्छन्,’ कार्यदल सदस्य हाछेथू भन्छन्, ‘ठूला गाडीले साना गाडीलाई बाटो छेकेर अल्झाउने कारणले पनि सवारी जाम हुने गरेको छ ।’ नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया दिनुहोस्