जनतालाई सुकुम्बासी राखेर समाजवादमा पुगिदैंनः भट्टराई


काठमाडौं, १० असार । राष्ट्रियसभाका सांसद खिमलाल भट्टराईले सुकुम्बासी समस्या समाधानका लागि तत्काल उच्चस्तरीय सुकुम्बासी समस्या समाधान आयोग गठन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
राष्ट्रियसभाको आईतबारको बैठकमा बोल्दै सांसद भट्टराईले जनतालाई सुकुम्बासी राखेर समाजवादमा पुग्न नसकिने भन्दै तत्काल त्यस्तो आयोग गठनको माग गरे । ‘सुकुम्वासी र अव्यवस्थित वसोवासी जनतालाई जमीनको मालिक बनाउन उनीहरूले जोतभोग गर्दै आएको जमीनको दर्ता गरी लालपुर्जा दिनुपर्दछ’, भट्टराईले भने,‘जनतालाई सुकुम्वासी राखेर हामी समाजवादमा पुग्न सक्दैनौं ।’
निर्वाचनका बेला सुकुम्वासी समस्या सम्पूर्ण रूपमा समाधान गर्ने प्रतिबद्धता जनाएको स्मरण गराउँदै उनले समाधानका लागि यथाशीघ्र उच्च स्तरीय सुकुम्वासी समस्या समाधान आयोग गठन गर्न कृषि तथा भूमि सुधार मन्त्रालयको ध्यानाकर्षण गराए ।
लुम्बिनीलाई बहुविषयक विद्यालय बनाऔं
बैठकमा भट्टराईले लुम्बिनीमा अवस्थित लुम्बिनी वौद्ध विश्व विद्यालयलाई बहु विषयक विश्व विद्यालयका रुपमा विकसित गर्नुपर्ने धारणा पनि राखे । विद्यार्थी संख्याको अभावमा विश्व विद्यालय चल्न मुश्किल हुनेतर्फ ध्यानाकर्षण गराउँदै उनले बौद्ध दर्शन मात्रै अध्ययन हुने बिश्व विद्यालयका रुपमा संकुचन गर्दा विकास अवरुद्ध हुने तर्क गरे । ‘भारतमा चलिरहेका अलिगढ मुस्लिम विश्व विद्यालय र वनारस हिन्दू विश्व विद्यालय विशेषै हुन् तर ती पनि बहु विषयक नै छन्, भट्टराईले भने,‘त्यसैले हामीले पनि बौद्ध विश्व विद्यालयलाई बहु विषयक बनाऔँ, यसतर्फ शिक्षा मन्त्रालयको ध्यानाकर्षण होस् ।’

प्रतिक्रिया दिनुहोस्