जनयुद्धका सपना पूरा गर्न प्रचण्डको अस्थिर राजनीति बाधक नबनोस्ः देवेन्द्र पौडेल


 १९ साउन । लामो समय प्रचण्डसँगै शसस्त्र युद्ध लडेका नयाँ शक्ति नेपालका संगठन विभाग प्रमुख देवेन्द्र पौडेलले प्रचण्ड ३९ औँ प्रधानमन्त्री निर्वाचित भएकोमा खुशी व्यक्त गरेका छन् ।

पहिलो पटक प्रचण्ड प्रधानमन्त्री बन्दा पौडेल माओवादीमा निकै हर्ताकर्ता थिए । प्रचण्डको कार्यकाल सफल बनाउन सकारात्मक भूमिका खेलेका पौडेल अहिले फरक पार्टी र फरक विचारको नेतृत्व गरेका डा. बाबुराम भट्टराईको साथमा छन् ।

प्रचण्डलाई सफल–असफल बनाउँने उनको प्रत्यक्ष भूमिका अहिले छैन । यद्यपि उनले प्रचण्डको दोस्रो प्रधानमन्त्रीकाल सफल होस भनी टेलिफोनमै कामना व्यक्त गरे । निकै हतारमा रहेका पौडेलले टेलिफोनबाटै प्रचण्डबारे दिएको छोटो प्रतिक्रिया उनकै शब्दमाः

उहाँ दोस्रो पटक नेपालको प्रधानमन्त्री निर्वाचित हुनुभएको छ । म उहाँलाई प्रधानमन्त्री निर्वाचित हुनुभएकोमा सर्वप्रथम बधाई दिन चाहन्छु । उहाँ राजनीतिमा असाध्यै अस्थिर हुनुहुन्छ ।

उहाँको अस्थिर प्रवृत्ति यो पटक हाबी हुन नपाओस् । उहाँका धेरै सजिला अप्ठ्यारा शैलीहरुसँग म राम्ररी परिचित छु । उहाँ भर्खर प्रधानमन्त्री निर्वाचित हुनुभएको छ । यस्तो बेलामा उहाँका धेरै नराम्रा पाटाका बारेमा चर्चा गर्नु त्यति उचित हुँदैन ।

मुख्य गरेर जनयुद्धका उपलब्धीहरु देशमा गणतन्त्र ल्याउने कुरा, समावेशी र संघीयता ल्याउने प्रसङ्ग, धर्मनिरपेक्षता जस्ता कुरालाई पूर्णता दिन उहाँको कार्यकाल सफल बन्न सकोस् मेरो शुभकामना । हामीले जनताको जीवनस्तरमै परिवर्तन ल्याउने सपना बोकेर जनयुद्ध लडेका थियौँ । त्यो सपना हामीले पूरा गर्न सकेनौँ । त्यो जस–अपजसको जिम्मेवारी हामीले लिनुपर्छ ।

अझ जनयुद्धको नेतृत्व नै प्रचण्डले गरेकाले सबै भन्दा बढी जिम्मेवारी उहाँले लिनुपर्छ । अहिले उहाँले ती सपना पूरा गर्ने अवसर प्राप्त गर्नुभएको छ । यदि उहाँको ती सपना पूरा गर्ने चाहना हो भने यो अवसरलाई सदुपयोग गर्न सक्नुपर्छ । उहाँको अस्थिरता ती सपना पूरा गर्ने सन्दर्भमा बाधक बन्ने गरेका छन् । यो पटक ती सपना पूरा गर्न उहाँको अस्थिरता बाधक नबनोस् फेरि पनि शुमकामना ।

प्रतिक्रिया दिनुहोस्